काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहान खोल्ने विषयमा भएको वार्ता निष्कर्षविहीन भएको छ ।
सोमबार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिबीच भएको छलफल निष्कर्षविहीन भएको झो । आइतबार सम्पन्न प्रारम्भिक छलफलबाट सहमति नजुटेपछि सोमबार मन्त्रालयमा पुनः बैठक बसेको थियो ।
छलफल मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यसहितको छलफलमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक जगन्नाथ दास, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधि, सरोकारवाला निकाय, राजनीतिक दलका प्रतिनिधि तथा जेनजी प्रतिनिधिहरू सहभागी थिए ।
संघर्ष समितिका प्रतिनिधिले आज मुख्य दुई विषय मेलम्ची- किउल- अम्वाथान- मेलम्चीघ्याङ मोटरबाटोमा २५ करोडबाट बढाएर १ अर्बको स्रोत सुनिश्चित गरि बहुवर्षे ठेक्का तत्काल खोल्नुपर्ने र बाढी पीडितहरूको जग्गाको यथार्थ नापजॅाच (प्राविधिक टोली सहित) गरि तत्काल प्रयोगमा ल्याइनुपर्ने र सम्भव नहुने देखिए सट्टाभर्ना दिनुपर्ने विषयमा छलफल भएको थियो ।
मेलम्चीको मुहान रहरले नभई बाढीपीडितका अधिकार र सुरक्षाका लागि बन्द गरिएको स्थानीयले बताएका छन् ।
छलफलमा संघर्ष समितिका पदाधिकारी, स्थानीय भेन्डर, घरजग्गा भाडावाला तथा सामाजिक उत्थान कार्यक्रम (सुप) का प्रतिनिधिहरू पनि सहभागी थिए । छलफल मंगलबार पनि हुने बताइएको छ ।









