काठमाडौँ । दुर्गा प्रसाईले मङ्सिर ७ गते घोषणा गरेको आन्दोलनले फेरी एक पटक सुरक्षा निकाय र राजनीतिक क्षेत्रमा तरंग ल्याएको छ ।
दुर्गा प्रसाईसँग आधिकारिक दल नभए पनि उनले नितान्त व्यक्तिगत पहलमा आन्दोलन र अभियान चलाएर देशको राजनीतिलाई तरंगित बनाइरहेका छन् । उनका आक्रामक अभिव्यक्ति र उत्तेजित पार्ने भनाईले खासगरी जेनजी आन्दोलन पछि सम्हालिरहेको सुरक्षा संयन्त्रमा विशेष ध्यान खिचेको छ । सुरक्षा संयन्त्रले अहिलेको देशको अवस्थामा प्रसाईको अभियान र आन्दोलनलाई राजनीतिक र सुरक्षा यथास्थितिका लागि महत्वपूर्ण र बढ्दो चुनौतीको रूपमा हेरेका छन् ।
प्रसाई विगतमा एमाले र माओवादीसँग नजिक भएर राजनीति गरेपनि पछिल्ला बर्षमा 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान' सुरु गरे र आफूलाई दक्षिणपन्थी, राजतन्त्रवादी र हिन्दू राष्ट्रवादी नेताको रूपमा प्रस्तुत गरेका छन् ।
उनले संवैधानिक राजतन्त्रको पुनर्स्थापना, संघीयता र गणतन्त्रको खारेजी, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राज्य घोषणा गर्ने र सार्वजनिक ऋण मिनाहा गर्ने, ब्याजदर कम गर्ने र निश्चित व्यापारिक समूहहरूलाई लक्षित गर्दै बैंक र उद्योगहरूलाई राष्ट्रियकरण गर्ने जस्ता मागहरू राखेर अभियान चलाएका छन् । गत चैत्रमा प्रसाईकै आव्हानमा भएको आन्दोलनमा भएको क्षति पछि उनलाई राजनीतिक र सुरक्षा संयन्त्रले सम्भावित चुनौतीको रुपमा हेरिरहेको छ ।
तिनकुने प्रदर्सनमा २ जनाको मृत्यु भएको थियो भने १२९ भन्दा बढी घाइते भएका थिए । त्यस्तै ४० भवन र ६९ सवारी साधनमा क्षति पुग्नुका साथै व्यापक तोडफोड, लुटपाट र आगजनी भएको थियो । त्यसपछि उनी भागेर भारत भागेका प्रसाई भारतीय अधिकारीहरूले आसाममा पक्राउ गरी नेपाल प्रहरीलाई सुम्पिएका थिए । त्यसपछि जेलमा रहेका प्रसाई अदालतको आदेशपछि छुटेका थिए ।
अब प्रसाईले नयाँ किसिमले आन्दोलन गर्ने भन्दै मङ्सिर ७ मा शुरु गर्ने घोषणा गरेका छन् । खासगरी भदौ २३ र २४ को जेनजी आन्दोलनमा जेलबाट भागेका कैदी र साढे ५ सयभन्दा बढी सुरक्षाकर्मीका हतियार प्रसाईको आन्दोलनमा प्रयोग हुन सक्ने आकलन सुरक्षा निकायको रहेको छ ।
स्रोतका अनुसार फागुन २१ को निर्वाचनसम्म दुर्गा प्रसाईले दोहोरो रणनीति अपनाउने र आफ्नो शक्ति प्रदर्शन गर्न र आधारलाई एकताबद्ध राख्न योजनाबद्ध आन्दोलनहरू गर्ने सुरक्षा स्रोतको आकलन रहेको छ । त्यस्तै प्रसाईले फागुन १ मा नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने योजना बनाएको समेत विश्लेषण गरिएको छ ।
यसैबीच दुर्गा प्रसाई पछिल्लो समय सडक मार्ग हुदै भारत गएको घटनाले सुरक्षा संयन्त्रमा जुन देशले उनलाई यसअघि पक्राउ गरेर बुझायो फेरी किन त्यहि देश गए भन्ने प्रश्न खडा गरेको छ । भारतमा प्रसाईको हिन्दू-राज्य र राजतन्त्रवादी विचारधारा भारतीय हिन्दुत्व आन्दोलनका गुटहरू जस्तै, आरएसएस, विहिप, वा अन्य धार्मिक संगठनहरूसँग मिल्दोजुल्दो रहेकोले उनीहरूले सहयोग गरेको हुनसक्ने आशंका गरिएको छ ।









