काठमाडौं । विश्व बैंकले नेपालमा मृत्यु र अपाङ्गताको लागि वायु प्रदूषण सबैभन्दा ठूलो जोखिम कारक भएको बताएको छ ।
विश्व बैंकले सार्बजनिक गरेको नयाँ प्रतिवेदनले नेपालमा मृत्यु र अपाङ्गताको लागि वायु प्रदूषण सबैभन्दा ठूलो जोखिम कारक भएको उल्लेख गर्दै सार्वजनिक नीति र लगानीले सबैभन्दा लागत-प्रभावी समाधान भएका क्षेत्रलाई प्राथमिकता दिँदै वायु गुणस्तर सुधार गर्न आवश्यक रहेको सुझाव दिएको छ ।
प्रतिवेदनमा काठमाडौं उपत्यका र तराई नेपालको वायु प्रदूषण प्रमुख रुपमा चिन्ताजनक अवस्थामा रहेको उल्लेख गर्दै विगत एक दशकमा यसमा कुनै उल्लेखनीय सुधार नभएको बताइएको छ ।
वायु प्रदूषणले औसत नेपालीको आयु ३.४ वर्षले घटाएको र वार्षिक रूपमा लगभग २६ हजार अकाल मृत्यु भइरहेको उल्लेख छ । साथै स्वास्थ्यको अतिरिक्त, वायु प्रदूषणले श्रम उत्पादकता, पर्यटन र उड्डयन क्षेत्रमा असर गरेको छ भने खराब वायु गुणस्तरको आर्थिक लागत प्रत्येक वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशतभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।
वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाही ठकुरीले प्रतिवेदनले औल्याएका विषयमा प्रतिक्रिया दिदै भनेका छन्- 'स्वच्छ हावा र आर्थिक वृद्धि द्वन्द्वमा छैनन् । वास्तवमा, प्रदूषणमा निष्क्रियताको लागत आज साहसिक कदम चाल्ने लागत भन्दा धेरै बढी छ । कडा औद्योगिक उत्सर्जन मापदण्डहरू तय गर्नेदेखि विद्युतीय यातायातलाई प्रवर्द्धन गर्नेसम्मका काम गर्न सरकार प्रतिबद्ध छ ।'
वायु प्रदूषणलाई सम्बोधन गर्न कार, मोटरसाइकल, बस र ट्रक लगायत सवारी साधनको फ्लीटलाई विद्युतीकरण गर्न जारी राख्नु महत्त्वपूर्ण रहेको सुझाव दिइएको छ । साथै सवारी साधन निरीक्षण र मर्मत प्रणालीलाई सुदृढ पार्दै र सडकको धुलो घटाएर यसलाई पूरक बनाउनु आवश्यक रहेको बताइएको छ ।
साना तथा मझौला उद्यमहरूमा विद्युतीय र पेलेट बोयलर र भट्टीहरू सहित उद्योगहरूमा स्वच्छ प्रविधि र इन्धन अपनाउने र सफा उद्योगहरूलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ भने इँटा र सिमेन्ट कारखाना जस्ता औद्योगिक सुविधाहरूलाई पनि सफा र बढी कुशल इन्धन बाल्न सहयोग गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।
इन्धन भार घटाएर र प्रभावकारी जागरूकता कार्यक्रमहरू विकास गरेर साथै वन आगलागी रोकथाम वन आगलागीको सम्भावना कम गर्न महत्त्वपूर्ण रहेको र आगो निभाउन प्रभावकारी प्रतिक्रिया प्रणालीहरू पनि आवश्यक रहेको उल्लेख गरिएको छ ।
माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री डिभिजन निर्देशक डेभिड सिस्लेनले भनेका छन्- 'विश्व बैंकले वित्तीय र प्राविधिक सहयोग र क्षमता निर्माण सहयोगको लाभ उठाएर नेपाललाई आफ्नो वायु गुणस्तर सुधार कार्यक्रमहरूलाई बलियो बनाउन मद्दत गर्न प्रतिबद्ध छ । राम्रो स्वास्थ्य र समृद्धिको लागि स्वच्छ हावाको अटल समर्थकको रूपमा, विश्व बैंकले नेपालमा स्वच्छ हावालाई सहयोग गर्ने हाम्रो प्रयासहरू प्रभावकारी र दिगो छन् भनी सुनिश्चित गर्न विश्वभरबाट आफ्नो व्यापक ज्ञान र अनुभवलाई निरन्तर उपयोग गरिरहेको छ ।'









