जनकपुरधाम । बाल यौन दुरुपयोगको आरोप लागेको तपस्वी रामबहादुर बम्जनले उच्च अदालतबाट सफाइ पाएका छन् ।
जिल्ला अदालत सर्लाहीबाट दोषी ठहर भएर कैद भुक्तान गरिरहेका बम्जनलाई उच्च अदालत, जनकपुरले गत चैत ६ गते सफाइ दिएको पाइएको छ । उच्च अदालतको आदेशसँग उनी रिहा भइसकेको बताइएको छ ।
उच्च अदालतका न्यायाधीशद्वय नरीश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला बदर गरेको थियो । आश्रममा आनी बनेर बसेकी ती बालिकालाई बम्जनले ललाई फकाई प्रलोभनमा पारेर यौन शोषण गरेको आरोप थियो ।
उच्च अदालतले फैसला गरेको समयमा बम्जन जिल्ला कारागार कार्यालय सिन्धुपाल्चोक थिए । उनलाई अर्की आनी फूलमाया रुम्बा बेपत्ता पारेको मुद्दाको सुनुवाइको लागि सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको थियो । फैसला भएको राति चैत ६ गते पत्र प्राप्त भएसँगै सिन्धुपाल्चोक कारागारले ७ गते छोडेको पाइएको छ ।









