काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनामा भएको अनियमितता छानबिन गर्न समिति गठन गरेको छ । राखेपका सदस्यसमेत रहेका अञ्जन धमलाको संयोजकत्वमा बुधबार तीन सदस्यीय समिति गठन गरिएको हो ।
सदस्यमा सारंगी निरौला र कमला दाहाल रहेका छन् । सदस्य सचिवस्तरीय निर्णयअनुसारै समितिलाई १५ दिनको समय दिएर एनपिएलमा भएको अनियमितताबारे प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
राखेपको खेलकुद विभागका निमित्त विभागीय प्रमुख प्रभा कर्माचार्यले भनेकी छन्- ‘क्यानले एनपिएल आयोजनाका क्रममा राष्ट्रिय खेलकुद विकास ऐन तथा विज्ञापन नियमन ऐन र अन्य प्रचलित कानुन उल्लंघन गर्दै अनियमितता गरेको आरोपमा छानबिनका लागि कार्यदल गठन गरिएको छ ।’
क्यानले एनपिएलमा अवैध रूपमा विदेशी कम्पनी ल्याउनेदेखि अपारदर्शी कारोबार गरेको भनी युवा तथा खेलकुद मन्त्रालय, राखेप तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको पत्रमा उल्लेख छ । उजुरीका आधारमा अख्तियारले सुरुमा खेलकुद मन्त्रालयलाई छानबिन गर्न निर्देशन दिएको हो । त्यसपछि मन्त्रालयले राखेपलाई छानबिन गरी सत्यतथ्यको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनअनुसार परिषद्ले सदस्यसचिव टंकलाल घिसिङस्तरीय निर्णय गर्दै १५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउने म्यान्डेटसहित गत १३ चैतमा तीन सदस्यीय कार्यदल गठन गरेका हुन् ।
पहिलो संस्करणको एनपिएल गत १५ मंसिरदेखि ६ पुससम्म भएको थियो। जसमा जनकपुर बोल्ट्सले धनगढीलाई हराउँदै उपाधि हात पारेको थियो । क्यानले ब्रोडकास्टिङ पार्टनरका रूपमा एनपिएलका सबै खेल पैसा तिरेर स्टार स्पोर्टसबाट प्रत्यक्ष प्रसारण गरेको थियो । क्यानले स्टार स्पोर्ट्सलाई तिरेको पैसा नियम विपरित तिरिएको र पारदर्शी समेत नभएको भन्दै प्रतियोगिताका संयोजक एवम क्यानका सचिव पारस खड्काको आलोचना भइरहेको छ । साथै अहिलेसम्म एनपीएलको खर्चको विवरण समेत सार्बजनिक नगरेको भन्दै पारस अपरादर्शी भएको आरोप लागि रहेका बेला छानबिन शुरु गरिएको छ ।









