काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पछि लागेर किचकिच गरिरहेको टिप्पणी गरेका छन् ।
शनिबार सिन्धुलीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले आगामी चार पाँच महिनामा सेवा अवधि सकिँदै गरेको कुलमानको पछि लागेर राम्रो नगरेको बताएका हुन् ।
उनले भने- ‘उर्जा मन्त्रालयअन्तर्गत विद्युत प्राधिकरण छ । प्रमुख प्रशासकीय अधिकृतको एउटा प्रकरण सुनिरहेका छौं । मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि, बेढंग हो । तीन चार महिनामा सेवा निवृत्त हुने, तीन चार महिनामा सेवा निवृत्त भइसकेपछि एउटा उपयुक्त मान्छे ल्याउने, अनि त्यो संस्थाको नेतृत्व गर्न दिने । सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको जस्तो देखिन्छ, किचकिच गरिरहेको जस्तो देखिन्छ । यस्ता कुराहरु ठीक होईन, उपयुक्त हुँदैन । यस्तो नचाहिने काममा मन्त्रीहरु लाग्नुहुदैन । '
कार्यक्रममा महामन्त्री थापाले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको कामको भने प्रसंशा गरेका थिए । उनले परराष्ट्र मन्त्रालयले समस्याको समाधान दिनेगरी काम गरिरहेको बताउदै विदेशमा रहेका नेपालीको संख्यालगायतको डाटा संकलन गरेर परराष्ट्र मन्त्रालयले डा.देउवाको नेतृत्वमा प्रभावकारी काम गरिरहेको दाबी गरेका थिए ।