काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य मन्त्रालयको सचिव बढुवा गर्दा वरियता मिचेको भन्दै आपत्ति जनाएकी छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले वरिष्ठताका आधारमा एक नम्बरमा रहेकी डा. संगीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरिएको भन्दै यस्तो किन गरियो ? भनेर प्रश्न गरेकी हुन् ।
उनले भनेकी छन्- ‘संविधानमा लैङ्गिक समानताको धारा त राख्यौँ तर राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेन । स्वास्थ्य मन्त्रालयको सचिवका लागि सिफारिस र वरिष्ठताका आधारमा एक नम्बरमा रहेकी डा. संगीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरियो । यस्तो किन गरियो ? पुरुष मन्त्रीले महिला सचिवसँग कामै गर्न नसक्ने हो ? कि महिला नेतृतव स्वीकार नगरिएको हो ? सरकारसँग संसदले जवाफ माग्नुपर्छ ।’
स्वास्थ्य मन्त्रालयको सचिवका लागि डा. संगिता कौशल मिश्रा, डा. टंकप्रसाद बाराकोटी र डा. विकास देवकोटाको नाम सिफारिस भएको थियो । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले तेस्रो नम्बरमा रहेका डा. विकास देवकोटालाई सचिव बढ्वा गरेको थियो ।