• २०८१ माघ ३० बुधबार

फिल्म ‘परालको आगो' मा भित्रिए जितु नेपाल

kharibot

काठमाडौँ । गुरुप्रसाद मैनालीको चर्चित कथासंग्रह ‘नासो’ मा सङ्ग्रहित ‘परालको आगो’ कथामा आधारित भएर निर्माण हुन लागेको फिल्ममा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन् ।

फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सको तर्फबाट निर्माता सुशील पोखरेलले जितुसँग मंगलबार लिखित सम्झौता गरेका हुन् । प्राप्त जानकारी अनुसार फिल्ममा जितुले जुठे दमाईको भूमिका निभाउनेछन् ।

यसअघि फिल्ममा अभिनेत्री सुहाना थापा गौँथलीको भूमिकामा अनुबन्ध भइसकेकी छन् । उनको जोडी अभिनेता खगेन्द्र लामिछानेसँग बाँधिने लगभग निश्चित छ । खगेन्द्रसँग निर्माताको लिखित सम्झौता मात्र हुन बाँकी छ । उनी फिल्ममा जोडिएको अवस्थामा चामेको भूमिका निभाउनेछन् । ‘परालको आगो’ श्रीमान्-श्रीमती चामे र गौँथलीको कथा हो ।

लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी तथा सत्यराज आचार्य र स्वरुपराज आचार्यको संगीत हुनेछ । फिल्मका निर्माण नियन्त्रण नगेन्द्र घिमिरे हुन् । आगामी जेठबाट छायांकनको तयारी गरिएको फिल्मको प्रदर्शन दशैं छेकोमा हुने जनाइएको छ ।

फिल्ममा सुशील देवकोटाको लेखन छ । करिब ४५ वर्षअघि ‘परालको आगो’ कथामा निर्देशक प्रताप सुब्बाले पनि फिल्म बनाएका थिए । यसपटक भने लोकेसन, प्रस्तुतिकरण तथा पटकथालाई फरक किसिमले प्रस्तुत गर्न लागिएको निर्माता पोखरेलको भनाइ छ । पोखरेलले यसअघि ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ फिल्म निर्माण गरिसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै