काठमाडौँ । भारतको तिरुपति मन्दिरमा प्रसादको रूपमा चढाइने लड्डुमा मिसावट गरिएको घिउ प्रयोग गरेको घटनामा विशेष अनुसन्धान टोलीले चार मुख्य अभियुक्तलाई पक्राउ गरेको छ ।
सर्वोच्च अदालतको आदेशपछि सीबीआईको निरीक्षणमा एसआईटी गठन गरिएको थियो ।
पक्राउ परेका दुई जना उत्तराखण्डको रुडकीमा रहेको भोलेबाबा अर्गानिक डेरीका निर्देशक हुन् । उनीहरूबाहेक, तिरुपति जिल्लाको वैष्णवी डेरी स्पेशलिटीज लिमिटेडका सीईओ र तमिलनाडुको डिन्डिगुलमा रहेको एआर डेरीका प्रबन्ध निर्देशकलाई पनि पक्राउ गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
यी डेरीले घिउमा मिसावट गरेको बताइएको छ ।
गत असोजमा तिरुपति मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग गरिएको विषय बाहिर आएको थियो ।
तिरुपतिमा दैनिक हजारौं लड्डू तयार हुने जनविश्वास छ । सन् २००९ मा तिरुपति लड्डुलाई भौगोलिक संकेत दिइएको थियो । लड्डु चना, मक्खन, चिनी, काजू, किसमिस र अलैंचीबाट बनाइन्छ । यो लड्डु बनाउने विधि ३ सय वर्ष पुरानो रहेको बताइएको छ । तिरुमाला तिरुपति मन्दिर, भगवान वेंकटेश्वरलाई समर्पित, भारतको सबैभन्दा पवित्र मन्दिरहरू मध्ये एक हो । मन्दिरमा हरेक दिन औसतमा एक लाखभन्दा बढी भक्तजन पूजा मात्र गर्दैनन्, दान पनि गर्छन् ।
मन्दिरको दान पेटीमा लाखौं रुपैयाँ जम्मा मात्रै होइन, गहना चढाउनेको पनि कमी छैन । तिरुपति मन्दिरलाई भारतकै धनी मन्दिर मानिन्छ ।
भगवान वेंकटेश्वरले पद्मावतीसँग विवाह गर्ने योजना बनाउँदा पैसाको अभाव भएकोले धनका देवता कुबेरकहाँ गएर एक करोड रुपैयाँ र एक करोड सुनको सिक्का मागेको पुरानो मान्यता छ । भगवान वेंकटेश्वरसँग त्यो ऋण अझै पनि रहेको र भक्तजनहरुले उदारतापूर्वक दान दिएर सो ऋणको ब्याज तिर्न सहयोग गर्ने विश्वास गरिन्छ । तिरुमाला मन्दिरमा हरेक वर्ष करिब एक टन सुन दान आउँछ ।
तिरुपति मन्दिरको सम्पूर्ण काम तिरुमाला तिरुपति देवस्थानम अर्थात् टिटीडी ट्रस्टले हेर्ने बताइन्छ ।