काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवको आजबाट नयाँ कार्यकक्ष सञ्चालनमा ल्याइएको छ ।
शनिबार बिहान खानेपानी मन्त्रालयमा बिद्युत सर्ट भई आगलागी हुँदा मन्त्री यादवको कार्यकक्ष जलेर पूर्ण रुपमा क्षति पुगेको थियो । मन्त्री यादवले अस्थायी रुपमा आफ्नो नयाँ कार्यकक्ष बनाएर कामकाज सुरु गर्नु भएको उनको स्वकीय सचिवालयले जनाएको छ ।
खानेपानी मन्त्रालयकै तेस्रो तलाको कोठा नम्बर ४०७ बाट अस्थायी कार्यकक्ष बनाएर सेवा प्रवाहको काम सुरु गरिएको मन्त्री यादवका निजी सचिव एवम् उप सचिव भक्तराज जोशीले जानकारी दिए ।
उनले भने,'शनिवार आगलागी भएर मन्त्री ज्युको कार्यकक्षमा पूर्ण रुपमा क्षति पुगेको छ । अहिले मर्मतको कार्य भइरहेकाले अस्थायी रुपमा नयाँ कार्यकक्ष स्थापना गरी सेवा प्रवाह सूचारु गरिएको छ ।'
मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अति आवश्यक एवम् महत्वपूर्ण कागजातमा कुनै क्षति नभएको जनाएको छ । आगलागीबाट मन्त्री यादवको कार्यकक्षमा भएका दुईवटा टेलिभिजन, एउटा डेस्कटप कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, सिसी क्यामेराको मनिटर लगायतका सामग्री नष्ट भएका छन् ।