काठमाडौं । घरेलु मैदानमा सम्पन्न महिला त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालको कमजोर प्रदर्शन रहेको छ । आफ्ना सबै ६ खेलमा हार बेहोरेर नेपाली महिला क्रिकेट टिमका कमजोरी बाहिर आएका छन् भने टिममा व्यापक सुधार आवश्यक रहेको देखिएको छ ।
नेपालले खेलका सबै पक्ष ब्याटिंग, बलिङ र फिल्डिङमा कमजोरी देखियो भने खेल कसरी जित्ने भन्ने आत्मविश्वास गुमाएको देखिएको छ ।
नेपालले घरेलु मैदानको फाइदा उठाएर आफु भन्दा बलिया टिम नेदरल्याण्डस र थाइल्याण्डमाथि हावी हुने अवसर गुमाएको छ । यस सिरिजको विश्लेषण गर्दा महिला टिममा विजयी टिममा हुनुपर्ने आत्मविश्वास नै देखिएन ।
ब्याटिंग तर्फ यू-१९ टिमकी कप्तान पुजा महतोको नेदरल्याण्डसविरुद्धको ६२ रनको अर्धशतकीय पारी बाहेक अन्य कुनै ब्याटरको प्रदर्शन विशेष देखिएन । महतोले नेपालका तर्फबाट सर्बाधिक १३४ रन बनाएकी थिइन् । पुजाले ३ विकेट समेत लिएकी छन् ।
त्यस्तै कप्तान इन्दु बर्माको प्रदर्शन पनि कमजोर नै देखियो । बर्माले सर्बाधिक ३९ रन सहित कुल १०४ रन बनाइन् भने उनले ३ विकेट मात्र लिएकी छन् । हार्ड हिटरको पहिचान बनाएकी कविता जोशीले एक इनिंगमा सर्बाधिक २७ रनसहित कुल ९४ रन मात्र बनाएकी छन् ।
यस सिरिजमा पुर्व कप्तान रुबिना क्षेत्री र अल राउण्डर सीता राना मगरको औसतभन्दा तलको प्रदर्शनको असर नेपाली टिममा परेको देखिएको छ । सीताले एक खेलमा ५ विकेट लिएको बाहेक अन्य खेलमा उनको प्रदर्शन औसतभन्दा तल नै रह्यो । त्यस्तै रुबिनाले प्रतियोगितामा केवल ६२ रन बनाइन भने केवल एक विकेट लिएकी छन् ।
समग्रमा प्रमुख खेलाडीको कमजोर प्रदर्शन नै नेपालको हारको प्रमुख कारण देखिएको छ । खेलाडीहरूलाई निरन्तर अन्तर्राष्ट्रिय एक्सपोजर दिनुपर्नेलगायत खेलाडीलाई सुबिधा दिनुपर्ने, उनीहरुलाई लगातार खेल्ने वातावरण बनाउनुपर्ने विषय आफ्नो ठाउमा छन् तर पाएको अवसर सदुपयोग नगरेर घरेलु मैदानमै भएको यस्तो लज्जास्पद हारको जिम्मेवारी खेलाडी र कप्तानले लिनै पर्ने हुन्छ ।
यस सिरिजले नेपाली महिला क्रिकेटलाई एक्स्पोज गरेको छ । पुजा महतो, मनिषा उपाध्याय जस्ता केहि खेलाडीले आफ्नो छाप छोडे पनि सिनियर खेलाडीहरुले आफ्नो जिम्मेवारी नलिदा घरेलु दर्शकलाई निराश बनाएका छन् । यस सिरिजले नेपाली महिला क्रिकेट टिममा व्यापक परिवर्तनको माग गरेको छ र बढी भन्दा बढी युवा खेलाडीलाई अवसर दिनुपर्ने आवश्यकता औल्याएको देखिएको छ ।
फिल्डिङमा सुधार ल्याउन खेलाडीको फिटनेसमा ध्यान दिनुपर्नेदेखि खेलाडीलाई जिम्मेवारी लिएर खेल्ने रणनीति बनाउनु आवश्यक देखिएको छ । क्यानले खेलाडीलाई पारिश्रमिकको व्यवस्थादेखि अन्तर्राष्ट्रिय एक्सपोजर बढाउन गरेका प्रयासलाई खेलाडीले खेलबाट सहयोग गर्नुपर्नेमा यस पटक महिला क्रिकेट टिम नराम्रोसँग चुकेको छ । अब क्यानले महिला टिममा व्यापक परिवर्तन गर्दै नयाँ टिम बनाएर अगाडी बढ्नुपर्ने आवश्यकता देखिएको छ ।