काठमाडौँ । भारतको बिहार राज्यको मुजफ्फरपुर जिल्लामा डाक्टरहरूले नौ वर्षीया बालिकाको पेटबाट रौंको ठूलो डल्ला निकालेका छन् । करिब दुई घण्टाको अपरेशनपछि बाहिर निस्किएको यो गुच्छाको तौल एक किलोग्राम रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
मुजफ्फरपुरको श्रीकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा भएको यो शल्यक्रिया चर्चाको विषय बनेको छ । जनवरी १८ मा, एक दम्पतीले आफ्नी ९ वर्षीया छोरीलाई पेट दुखेको गुनासो लिएर मुजफ्फरपुर मेडिकल कलेज ल्याएका थिए ।
पछि थाहा भयो ती बालिकालाई तीन वर्षको उमेरदेखि नै कपाल भाँच्ने र खाने बानी थियो । ती बालिकाका बुबाले छोरीले आफ्नो कपाल आफैं भाँच्ने र खाने गरेको बताएका छन् । त्यसपछि केहि दिनमा नै उनले पेट दुखेको गुनासो गरिन् र खान र पिउन छोडेपछि अस्पताल ल्याएको उनका बुबाले बताएका छन् ।
उनलाई मेडिकल कलेजमा भर्ना गर्दा उनको हेमोग्लोबिन केवल ५.२ थियो। जनवरी २१ मा सर्जन आशुतोष कुमारले अन्य दुई डाक्टरहरूसँग मिलेर बालिकाको शल्यक्रिया गरेका थिए । शल्यक्रिया गरेपछि उनको पेटबाट कपालको करिब एक किलोको डल्ला निकालिएको थियो । चिकित्सकहरुले पेट पूरै रौंको थुप्रोले भरिएको बताए ।
चिकित्सकले बालिकालाई ट्राइकोटिलोमेनिया नामक मानसिक रोगका कारण उनले आफ्नो कपाल तान्ने र खाने गरेको बताएका छन् ।