बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुने भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा रविसहित थप १४ जनाविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो। यसअघि २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भइसकेको छ ।
रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका ४२ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो दाबीसहित रुपन्देही जिल्ला अदालतमा बिहीबार नै मुद्दा दर्ताको तयारी सरकारी वकिल कार्यालयले गरेको छ ।
यदि बिहीबार कुनै प्राविधिक कारणले मुद्दा दर्ता नभए शुक्रबार मुद्दा दर्ता गरिने सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।
प्रहरीले गत शुक्रबार नै दुई प्रतिवेदन सरकारी वकिलको कार्यालय बुझाएको थियो । प्रहरीले दिएको सुरु प्रतिवेदनका २८ जना र पूरक जाहेरीका आधारमा रवि र छविसहित १४ जना थप गरेर प्रहरीले ४२ जनालाई मुद्दा चलाउनु पर्ने राय प्रतिवेदनमा दिएको थियो ।