• २०८१ पौष ३ बुधबार

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

kharibot

बारा, निजगढ नगरपालिका-४ बकैया खोलाको बाँध कच्ची सडकबाट अवैध लागूऔषध गाँजा ६ किलो ७ सय ६० ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रौतहट फतुवा बिजयपुर नगरपालिका-४ बस्ने २५ वर्षीय राम प्रबेश महतो र सोही नगरपालिका-९ बस्ने २१ वर्षीय राजेश महतो रहेका छन् । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले बागदेवबाट पुरानो निजगढतर्फ जाँदै गरेको प्र.०२- ०२९ प २८३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यसैगरी बारा, जितपुर सिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मोतिहारी ग्राम पंचायत राजमुरा-१४ चाग्डी गाउँ बस्ने २६ वर्षीय अखिलेख कुमार साह र १९ वर्षीय राज कुमार पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बिए २२ जे ५३३३ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको पछाडीको सिटमा फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी चालक अखिलेख कुमार र कारमा सवार राज कुमारलाई पक्राउ गरेको हो । 

मोरङ, रंगेली नगरपालिका-५ स्थित भित्री सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ११ ग्राम १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने २७ वर्षीय धिरज कुमार झा लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले आँपगाछिबाट रंगेली झुंगिटोलतर्फ आउँदै गरेको को.७ प ६६४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी मोरङ, रंगेली नगरपालिका-७ शुक्रबारे आदर्श टोलस्थित इसान्त फार्मेसीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ३ सय ट्याब्लेट, स्पास्पेन २ हजार ट्याब्लेट र डियसे-२० १३ हजार ६ सय ट्याब्लेट सहित फार्मेसी संचालक सोही ठाउँ बस्ने २१ वर्षीय संजय कुमार मण्डललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त फार्मेसीमा लागूऔषध बिक्री वितरण भइरहको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको संयुक्त टोलीले फार्मेसी तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

कैलाली, घोडाघोडी नगरपालिका-२ साडेपानी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३८ वर्षीय पहलमान शाहीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ झण्डा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८८ ट्याब्लेट र स्पास्पेन १ सय ८८ ट्याब्लेट सहित उदयपुर चौडण्दी नगरपालिका-४ बस्ने ३२ वर्षीय नरजित राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले धरानबाट चतरातर्फ जाँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित बुद्धशान्ती गाउँपालिका-२ बस्ने २१ वर्षीय प्रजित तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सप्तरी, बोदेबर्साईन नगरपालिका-१ धनगढीस्थित भित्री सडकबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ४५ एम्पुल, फेनारगन ४४ एम्पुल र डाईजेपाम ४५ एम्पुल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खड्क नगरपालिका-१ सिस्वा बस्ने २५ वर्षीय पारस कुमार मण्डल र २२ वर्षीय रविन कुमार साह रहेका छन् । प्रहरी चौकी सिस्वाबेल्हीबाट खटिएको प्रहरीले सारस्वरबाट धनगढीतर्फ जाँदै गरेको प्र.१-०२-०४० प ७३६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै