काठमाडौं । बुटवलको तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भई पल्टिंदा दम्पत्तिसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् ।
गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
पुल क्रस गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको उहाले बताए । उक्त जिप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ ।