काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चितवन कालिका नगरपालिका-७ ठेगाना भएकी २१ वर्षीया रचना परियार र डोटी बडीकेदार गाउँपालिका-२ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने २७ वर्षीय प्रकाश बहादुर रोक्का मगर रहेका छन् ।
पक्राउ मध्ये रचनाले हंगेरी पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १८ लाख रूपैयाँ र प्रकाशले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रचनालाई काठमाडौं महानगरपालिका-१२ बाट र प्रकाशलाई काठमाडौं टोखा नगरपालिका-९ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।