Skip This
  • २०८१ मङ्सिर ५ बुधबार

बजेट अभावले विकास आयोजना प्रभावित- सभामुख घिमिरे

kharibot

बिर्तामोड । सभामुख देवराज घिमिरेले बजेट अभावका कारण निर्वाचन क्षेत्रका विकास आयोजना प्रभावित भएको बताएका छन् ।

आफू निर्वाचन भएको दुई वर्ष पुगेकै दिन मंगलबार झापा क्षेत्र नम्बर २ का आधा दर्जन विकास आयोजना निरीक्षणमा पुग्नुभएका सभामुख घिमिरेले मुलुकको शिथिल अर्थतन्त्रको प्रभाव विकासमा सोझै परेको बताए । ‘तुलनात्मक रुपमा झापा क्षेत्र नम्बर २ मा धेरै योजना परेका छन्, तर पनि चित्तबुझ्दो अवस्था छैन,’ उनले मदन भण्डारी राजमार्ग अवलोकनका क्रममा भने, ‘तथापि मेरो प्रयास निरन्तर हुनेछ ।’

मुलुकको सर्वोच्च जनप्रतिनिधिमुलक संस्था संसदको सभामुखकोरुपमा विधि निर्माणमा आफ्नो सम्पूर्ण शक्ति लगाउनुपर्ने अवस्थामा पनि निर्वाचन क्षेत्रप्रतिको दायित्वबाट पछि नहट्ने सभामुखको भनाइ छ । ‘मलाई निर्वाचन जितेपछि ५ वर्ष जनताकै घरमा पुगेर बिताउँछु भन्ने थियो, परिस्थितिले सभामुख भएपछि भेटघाट कम भएको छ,’ उनले भने, ‘तर, जिल्लाको विकासमा काठमाडौंबाटै धेरै भन्दा धेरै पहल गर्ने अवसर पनि मिलेको छ ।’

सभामुख घिमिरे चार दिनको कार्यक्रम बनाएर आइतबार बिर्तामोड आएका थिए । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सोमबार काठमाडौं पुगेर सोही दिन साँझ पुनः झापा आएका थिए ।

आइतबार झापा आएलगत्तै बिर्तामोड र कनकाई क्षेत्रको अवलोकनमा निस्कनुभएका घिमिरेले सोमबार निर्माण तयारीमा रहेको सुपारी प्रशोधन केन्द्रको अवलोकन गरेका थिए ।

मंगलबार बिहानदेखि राति अबेरसम्म घिमिरे प्रदेश सभा सदस्य चिन्तन पाठकसहित राजनीतिक दलका अगुवा, आयोजनाका अधिकारीहरूसहित निर्वाचन क्षेत्र अन्तगर्तका विभिन्न आयोजनामा पुगेका थिए ।

सभामुख घिमिरेले अर्जुनधारा ११ स्थित बुट्टाबारीबाट सालबाडी हुँदै कालिकास्थान जोड्ने सडकको स्थलगत अवलोकन गरे । कालोपत्रे हुन नसकेर रोकिएको ९ दशमलव २ किमि लामो सडकको काम अगाडि बढाउने क्रममा सभामुखले सम्बद्ध पक्ष तथा स्थानीयसँग अन्तक्र्रिया गरेका थिए । 

कार्यक्रममा निर्माण पक्षले आगामी असारसम्ममा निर्माण सम्पन्न हुने जानकारी दिएको थियो ।

घिमिरेले हात्ती आतंक कम गर्न आफ्नो पहलमा भएको इलेक्ट्रिक फेन्सिङ सम्बन्धी कामको प्रगतिबारे बुझेका थिए । इलेक्ट्रिक फेन्सिङ प्रविधि प्रभावकारी भएको बताउँदै उनले थप क्षेत्रमा विस्तारका लागि पहल गर्ने बताए ।

सभामुख घिमिरे बुधबार पनि झापाका विभिन्न कार्यक्रममा सहभागी भएर साँझ काठमाडौं फर्कने कार्यक्रम छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै