• २०८१ मङ्सिर २ आइतबार

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

kharibot

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ डाँफे बस्ने २० वर्षीय करण क्षेत्री र सोही गाउँपालिका-१ गुरुङ्ग टोल बस्ने २८ वर्षीय बिजय घर्ती रहेका छन् । प्रहरी चौकी जमुनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज बाँके समेतबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

सुनसरी, धरान उपमहानगरपालिका-११ बिष्णु चोकबाट नियन्त्रित लागूऔषध ट्रामानिल ६४ ट्याब्लेट र स्पास्पेन ६४ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-११ सुनौलो बस्ती बस्ने २२ वर्षीय सुमन परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाइ उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-१ झण्डा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट र स्पास्पेन १ सय ४० ट्याब्लेट सहित बराहक्षेत्र नगरपालिका-१ बस्ने १९ वर्षीय सौरब राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-९ सब्जी मण्डीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-९ धरान बस्ने बरमजिया गाउँपालिका-१ घर भएका २९ वर्षीय महोमद अलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

पर्सा, बहुदरमाई नगरपालिका-७ बिश्रामपुरबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित सोही नगरपालिका-७ भौराटार बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाठाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

दाङ, तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २१ मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ मदन आश्रित चोक नजिक डेरा गरी बस्ने भारत बहराइच रूपैडिहा घर भएका ३४ वर्षीय इरफान राइलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दमारगाउँबाट खटिएको प्रहरीले लु.१ ख ४६०१ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बैतडी, दोगडा केदार गाउँपालिका-६ पञ्जुनयाँ बस्ने ४० वर्षीय तारा सिंह कार्कीलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब २५ ग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोकुलेश्वरबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै