• २०८१ कार्तिक ८ बिहीबार

उत्साह जगाउन नसकेको ओली सरकारको सय दिन

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन पुरा भएको छ । बुधबार प्रधानमन्त्री ओलीले सय दिन पुगेको अवसरमा गरेका कामको विवरण सार्बजनिक गरे । उनले आफुले विश्वासको मत लिदा गरेका बाचाको ७० प्रतिशत पुरा गरेको दाबि गरे । बाँकी ३० प्रतिशत प्राकृतिक विपद्का कारण पुरा हुन नसकेको समेत उल्लेख गरे ।

ओली सरकारको सय दिनको कामको विश्लेषण गर्नु अघि यो सरकार निर्माणको पृष्ठभूमि बारे चर्चा गर्नु सहि हुन्छ ।

यो सरकार देशकै ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकार हो । सामान्यतया धेरै कम पटक यस्तो अवसर आउछ, जहाँ देशका प्रमुख प्रतिद्वन्दी दल मिलेर सरकार बनाउछन् । हो अहिले पनि यस्तै दुर्लभ सरकार बनेको छ । प्रचण्ड अस्थिर भएर गठबन्धन फेरिरहेपछि पालै पालो धोका खाएका कांग्रेस-एमाले एक ठाउमा आएर र सरकार बनाए । 

जनतामा छाएको चरम निराशा, बढ्दो बेरोजगारी, विदेशिने प्रवृति, भ्रष्टाचार, ढिलासुस्ती र राजनीतिक अस्थिरताको बीचमा कांग्रेसको सहयोगमा ओलीले सरकार बनाएको स्पष्ट नै छ ।

अब सय दिन शासन गरेका ओलीले के माथि उल्लेखित समस्यामा काम गरे त ? ओलीले सम्पन्न गरे भनेका ७० प्रतिशत काममा यी समस्या परेको देखिदैन । 

देशमा परेको ठुलो प्राकृतिक विपदको सामना गर्न सरकार असफल नै भयो । राजधानीमै सरकार उद्धार गर्न असफल भयो । पुर्व तयारीमा काम गरेको देखिएन । सरकारकै संयन्त्रले पुर्व सूचना दिएर चेतावनी दिदा पनि सरकारका अन्य संयन्त्रले थाहा नपाए जस्तो गरेको पाइयो ।

यति ठुलो  प्राकृतिक विपदमा न त सरकारको पुर्व तयारी देखियो न त विपदपछि सक्रियता नै देखियो । उही परम्परागत रुपमा विपद आएपछि सेना प्रहरी परिचालन गर्ने, मन्त्री पछि हेलिकप्टर लिएर अनुगमन गर्ने, विरालो बाध्ने शैलीमा राहतको निर्णय गर्ने र आरामले राहत दिए जस्तो गर्ने कामलाई नै यो सरकारले निरन्तरता दियो ।

न त यस अघि प्रचण्ड नेतृत्वको सरकारले त्रिशुलीमा बेपत्ता दुई बस खोज्नमा देखायो, न त त्यसपछि असोज १० देखि १२ सम्म आएको भिषण वर्षापछिको विपदमा अहिलेको सरकारले नै देखायो । यसमा प्रचण्ड वा ओली भएर यस्तो फरक भयो भन्ने देखिएन । अझ प्रधानमन्त्री ओली त यता विपदले जनताको विचल्ली हुदा अमेरिकामा बरालिदै गरेको पाइए । उनले आफ्नो यात्रा टुंगाएर स्वदेश फर्किने इच्छाशक्ति नै देखाएनन् ।

अब कुरा गरौँ प्रधानमन्त्री ओलीले सार्बजनिक गरेका आफ्ना उपलब्धिमा विपदमा प्रभावितलाई राहत रकम बाँडेको, खानेपानी, विद्युत, सञ्चार, सडक मर्मत गरेको जस्ता विषय उल्लेख गरेका छन् । यो उपलब्धि कसरी भयो र ? यो त नगरी नहुने काम हो, सरकारको उपलब्धि होइन ।

एउटा उदाहरण नै लिऊ, ओली सरकारको पहिलो निर्णय किर्तिपुरको क्रिकेट स्टेडियम ३०० दिनमा बनाउने थियो । सय दिनमा के के भयो त ? प्रधानमन्त्रीले स्पष्ट रुपमा भन्न सक्नुहुन्छ ? अहिले पनि तयारी हुदै छ, निर्देशन दिएका छौं, पहल गर्दै छौं भन्नुहुन्छ । हो समस्या यहि निर नै हो ।

प्रधानमन्त्रीले दुध र उखु किसानलाई गरेको भुक्तानी, रासायनिक मलको व्यवस्थालाई उपलब्धिमा राख्नु भएछ, यसरी त अब कर्मचारीलाई तलब खुवाएको, भत्ता दिएको पनि राखे भयो त । यस्ता अति सामान्य र नगरि नहुने विषयलाई उपलब्धि मानेर प्रधानमन्त्रीले आफैले आफ्नो उपहास गरेको देखिन्छ ।  

प्रश्न प्रधानमन्त्रीले आम जनताको निराशा चिर्न के काम गर्नुभयो भन्ने हो । सरकारले देशको बेरोजगारी कम गर्न नीतिगत र ठोस कार्यक्रम के बनायो भन्ने हो ? 

सरकारले अति सामान्य सवारी लाइसेन्स प्रिन्ट गरेर दिन नसकेर एपमा राखेको विषयलाई तिर मारेको जस्तो प्रचार गरेको सुहाएको छैन । 

प्रधानमन्त्रीले बुझ्नुपर्ने कुरा के छ भने करिब दुई तिहाईको सरकारले अब सडक मर्मत गरे, राहत वितरण गरे, निर्देशन दिए भनेर सुख पाइने र आमा जनताले सरकारको महसुस गर्ने अवस्था छदै छैन ।

हजारौं लाखौं जनताका समस्यालाई एकै नीतिगत निर्णय र योजनाले सम्बोधन गरेर सरकार भएको महसुस गराउनुपर्ने समय हो अहिले । सय दिनको कामको विश्लेषण गर्दा प्रधानमन्त्रीसँग वा सरकारसँग त्यस्तो कार्यक्रम नै छैन जस्तो सजिलै बुझ्न सकिन्छ । त्यसैले यो सय दिन पनि त्यसरी नै बित्यो जसरी यस अघिका सरकारका बितेका थिए । नयाँ कुरा केहि भएनन् वा सरकारले गर्न सकेन ।  

राजनीतिक रुपमा  कांग्रेस-एमाले मिलेर सरकार चलाउने विषय प्रचण्डसहितका विपक्षीलाई किनारा लगाउने बाहेक देशको विकास र अहिलेका देशका समस्या समाधानप्रति  केन्द्रित हुने सम्भावना नै देखिदैन । किनकी कांग्रेस-एमाले मनदेखि मिलेका छैनन् । उनीहरुबीच अविश्वास र डर छ, जसले डेलिभरी दिने विषयमा अवरोध गरिरहेको छ ।

उनीहरु अहिले धेरै नजिक हुन पनि डराएका छन् किनकी भोली एक अर्काविरुद्ध चुनाव लड्नुनै छ, टाढा हुन पनि सकेका छैनन् किनकी अहिले मिलेर सरकार पनि चलाउनु छ । 

अब निष्कर्षमा ओली नेतृत्वको सरकारको सय दिन हात्ती आयो हात्ती आयो फुस्स भएको छ, कुनै किसिमको उत्साह जगाउन असफल भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै