• २०८१ कार्तिक १ बिहीबार

रौतहटको ग्रामीण क्षेत्रमा दुर्घटना बढ्यो: एकको मृत्यु, एक गम्भीर घाइते

kharibot

रौतहट । रौतहटको ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिती नहुँदा दैनिक सवारी दुर्घटना बढ्दै गएको छ । कटहरियामा मोटरसाइकल दुर्घटनामा परी एकजना युवकको मृत्यु भएको छ भने मोटरसाइकलको ठक्करबाट अर्का युवक गम्भीर घाइते भएका छन् ।

अत्यधिक मदिरा सेवन गरी चलाएको मोटरसाईकलको ठक्करबाट रौतहटको कटहरिया नगरपालिका- ३ का सिकेन्द्र साह बानिया गम्भीर घाइते भएका हुन् । उनको तीन दिनदेखि काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको उनका बुवा दुखा साहले बताएका छन् ।  सिकेन्द्रको टाउकोमा गम्भीर चोट लागेको, निधार र आँखा छेउको हडी भाँचिएको उनले बताएका छन् ।

गत २७ गते राति सवा ९ बजेको समयमा बजेको समयमा कटहरिया ३ बिर्तीस्थित आफ्नै घर अगाडी खाना खाएर घुमिरहेको अवस्थामा विआर ५ एच २९०१ नम्बरको मोटरसाइकलले सिकेन्द्र साहलाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक कटहरिया २ हथियाहीका बचन यादवको छोरा वर्ष २० को विशाल यादवलाइ नियन्त्रणमा लिइ राखिएको छ । 

मोटरसाइकलमा पछाडी बसेका रामाधार यादवलाई जिम्मा जमानीमा पठाईएको प्रहरीले जनाएको छ । चालक बिशाल यादव मोटरसाईकल चलाउँदा समय मदिरा सेवन गरेको र  चालक अनुमतिपत्र समेत नरहेको कारण उनीमाथी सवारी अङ्गभङ्ग सम्बन्धी मुद्दा दायर गरी कार्वाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जानकारी दिएका छन् ।

पीडितका बुवा दुखा साहका अनुसार छोरा सिकेन्द्र घरमा खाना खाई बाहिर निस्केर आफ्नै साईडमा डुलिरहेको अवस्थामा अत्यधिक गतिमा पछाडीबाट आएको मोटरसाईकलले ठक्कर दिँदा सिकेन्द्रलाई झण्डै १० फिट पर उडाएको थियो । चालक अत्यधिक मदिरा सेवन गरेर मोटरसाईकल चलाएको कारण अनियन्त्रित भएर अर्को साईड रहेका सिकेन्द्रलाई ठक्कर दिएको उनको भनाई रहेको छ ।

त्यस्तै कटहरिया नगरपालिका  ४ बहादुरपुरका भोजिन्द्र बैठाको छोरा अरुन बैठाको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ । बैठाको उपचारको क्रममा  बिरगंजस्थित एलएस न्यूरो अस्पतालमा बुधवार मूत्यु भएको उनको परिवारले जनाएको छ ।

सोमवार कटहरियाबाट बाराजाने क्रममा फतुवा बिजयपुर नगरपालिका ६ पेटभर्वा र बारा जिलाको मलाहीको बिचमा २२ बर्षीय बैठाको मोटरसाइकल दुर्घटना भएको थियो । बिना हेलमेट तिब्रगतिमा चलाएको मोटरसाईकल अचानक बाटोमा आएको बाख्रा बचाउँदा दुर्घटना भएर टाउकोमा गम्भीर चोट लागेर उपचारको क्रममा मृत्यु भएको मृतकका बुवा बैठाले बताएका छन् ।

यो दुई उदाहरण मात्र हुन् । जिल्लाको १८ स्थानियतह मध्ये अधिकांशमा ट्राफिक प्रहरीको उपस्थिति नहुँदा यस्ता दुःखद घटनाहरु दैनिक भईरहेको छ । बिना हेलमेट मोटरसाईकलमा ३ जना चढ्ने, बिना लाइसेंस मोटरसाईकल चलाउने, मदिरा सेवन गरी तिब्रगतिमा कुदाउने गरेको कारण दिनदिनै सवारी दुर्घटना भईरहेको कटहरिया ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले बताएका छन्।

ट्राफिक नियम बिपरित सवारी चलाउने यदाकदा ट्राफिक प्रहरीको नियन्तरणमा आएपनि सामान्य चिट काटेको भरमा उनीहरूको मनोबल नघटेको कुशवाहाको जिकिर रहेको छ ।

कटहरियासंगै देवाही गोनाही, गुजरा , गढीमाई, माधव नारायण , राजदेवी, दुर्गा भगवती, राजपुर, परोहा, ईशनाथ, लगायतको स्थानिय तहमा ट्राफिक प्रहरीको अनुपस्थितिमा जथाभावी मोटरसाईकल , ट्याक्टर लगायतको सवारीसाधन चलाउने गरेको कारण दैनिकजसो दुर्घटना भईरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले  हाल चन्द्रपुरमा जिल्ला, बागमती, दुमरिया, गरुडा, सुकदेव चौक, बम नहर गौर, मौलापुर, बिजयपुरमा ट्राफिक पोस्ट तथा कार्यालय रहेको बताएका छन् ।

ट्राफिक कार्यालय तथा पोस्ट रहेको स्थान वरपरको गाउँ बजारमा उनीहरूले नै हेर्ने गरेको इन्स्पेक्टर अधिकारीले बताएका छन् । मजकुरको कार्यालयले जनशक्ती थपेर जिल्लाको सबै पालिकामा ट्राफिक प्रहरी परिचालनको आदेश दिएमा सम्भव भएको ट्राफिक प्रमुख अधिकारीले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै