• २०८१ असोज १३ आइतबार

आइपिएलमा फ्रेन्चाइजी ६ खेलाडी रिटेन गर्नसक्ने, राइट टु म्याच कार्ड पनि लागु

kharibot

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनअघि फ्रेन्चाइजीले ६ खेलाडीलाई रिटेन गर्न सक्ने नियम पारित गरिएको छ । 

आइपिएलले ६ खेलाडी रिटेन गर्दा एक खेलाडी घरेलु अनक्याप खेलाडी हुनुपर्ने नियम बनाएको छ भने अन्य पाँच खेलाडी भारतीय र विदेशी जो पनि हुनसक्ने नियम बनाएको छ ।  रिपोर्टका अनुसार शनिबार आईपीएल गभर्निङ काउन्सिलको वार्षिक बैठकमा यी निर्णयहरू गरिएको हो । 

त्यस्तै अब टोलीको पर्स सीमा पनि १०० करोडबाट बढाएर १२० करोड भारु पुर्याइएको छ । मेगा अक्सन यस वर्ष नोभेम्बरमा हुन सक्ने बताइएको भएपनि मिति भने अझै तोकिएको छैन ।

त्यस्तै यस बर्ष हुने मेगा अक्सनमा टोलीले राइट टु म्याच कार्ड पनि पाउनेछन् । एउटा टोलीले बढीमा ६ खेलाडीलाई टोलीमा राख्न सक्छ । यसले कोलकोता, सनराइजर्स, चेन्नई\, राजस्थान र मुम्बई जस्ता खेलाडीलाई फाइदा पुग्ने देखिएको छ ।

अक्सनअघि आईपीएल टोलीहरूले ५ अन्तर्राष्ट्रिय खेलाडी र एक अनक्याप खेलाडी राख्दा कुल ७९ करोड खर्च हुने भएको छ र  तिनीहरूको पर्समा मात्र ४१ करोड रुपैयाँ बाँकी हुनेछ, जुन रकमले बाँकी २० खेलाडी किन्नुपर्ने हुने भएको छ । रिटेन गरिएका खेलाडीमध्ये शिर्ष २ खेलाडीको मुल्य १८–१८ करोड, २ खेलाडी १४–१४ करोड र १ खेलाडी ११ करोड हुने गरि तोकिएको छ । त्यस्तै रिटेन गरिने एक अनक्याप्ड खेलाडीलाई ४ करोडमा रिटेन गर्न सकिनेछ । 

हरेक पटक आईपीएल मेगा लिलामीमा विदेशी र भारतीय खेलाडी राख्ने सीमा तोकिएको थियो । तर, यसपटक विदेशी र भारतीय खेलाडीलाई रिटेन गर्ने कुनै सीमा छैन । फ्रेन्चाइजीले चाहेमा सबै पाँच भारतीय वा पाँच विदेशी खेलाडीलाई राख्न सक्छ ।

त्यस्तै पाँच पटकको आईपीएल च्याम्पियन चेन्नई सुपर किंग्सका पूर्व कप्तान एमएस धोनी अनक्याप्ड प्लेयरको रूपमा आईपीएल खेल्न सक्ने भएका छन्। आईपीएलले आफ्नो पुरानो नियमलाई पुन: लागू गर्ने निर्णय गरेसँगै धोनी अनक्याप्ड खेलाडीको रुपमा चेन्नईमा रिटेन हुन सक्ने भएका हुन् । आइपिएलले ५ वर्षअघि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका खेलाडीले अनक्याप्ड खेलाडीको रुपमा लिलामीमा सहभागी हुन पाउनेछन् ।

धोनीले सन् २०२० मा सन्यास लिएका थिए तर उनले आफ्नो अन्तिम खेल भारतका लागि २०१९ मा खेलेका थिए । यसरी सन् २०२५ को आईपीएलसम्ममा उनको सन्यास र अन्तिम खेल दुवै ५ वर्षभन्दा बढी हुनेछ । यो नियम पहिले कहिल्यै प्रयोग गरिएको थिएन, जसका कारण यसलाई २०२१ मा हटाइएको थियो । तर, अब सीएसकेले धोनीका लागि यो नियम प्रयोग गर्न सक्ने भएको छ ।

राइट टु म्याच कार्डको फिर्ता

आईपीएल मेगा लिलामीमा राइट टु म्याच कार्डले पनि पुनरागमन भएको छ । टोलीले कुनै खेलाडीलाई रिटेन गर्न नसकेमा राइट टु म्याच कार्ड प्रयोग गरी मेगा अक्सनमा रिटेन गर्न सक्नेछन् । यदि टोलीले चाहेमा, तिनीहरूले सबै ६ खेलाडीहरू राख्न सक्छन् वा केही खेलाडीहरू राख्न सक्छन् र केहीलाई राइट टु म्याच कार्डको प्रयोग गरेर टिममा राख्न सक्ने भएका छन् । टोलीले चाहेमा एक खेलाडीलाई रिटेन गर्नुको सट्टा राइट टु म्याच कार्डमार्फत सबै ६ खेलाडी किन्न पनि सक्नेछन् ।

राइट टु म्याच कार्ड भनेको के हो ?

राइट टु म्याच अर्थात् आरटीएम कार्ड लिलामीमा रहेका टोलीहरूले प्रयोग गर्न सक्नेछन् । उदाहरणका लागि, रोहित शर्मालाई मुम्बई इन्डियन्सले रिटेन गरेन भने उनको नाम लिलामीमा आउछ र उनलाई रोयल च्यालेन्जर्स बैंगलोरले १० करोडमा किन्न खोज्यो भने मुम्बईले चाहेमा राइट टु म्याच कार्ड प्रयोग गरेर रोहितलाई १० करोडमा राख्न सक्छ । राइट टु म्याच कार्ड सबै टोलीसँग हुनेछ ।

इम्प्याक्ट प्लेयर नियम रहने 

सन् २०२३ मा लागू भएको इम्प्याक्ट प्लेयर नियम पनि आईपीएलमा जारी रहने छ । यो नियमको सहायताले टोलीले प्लेइङ–११ को कुनै एक खेलाडीलाई खेलको बीचमा बेन्चमा बस्ने खेलाडीलाई बदल्न सक्छ । पछिल्लो सिजनमा यो नियमको प्रयोगका कारण बढी रन बनेको थियो । जसका कारण गत सिजन मात्रै प्रतियोगिता इतिहासको शीर्ष १० मा ९ उच्चतम स्कोर बनेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै