• २०८१ भदौ ३० आइतबार

बंगलादेशको हिंसामा ६५० जनाको मृत्यु भएको राष्ट्रसंघको दाबी

kharibot

फाइल तस्बीर

काठमाडौँ । संयुक्त राष्ट्र मानवअधिकार कार्यालयले बंगलादेशमा हालै भएको हिंसामा करिब ६५० जनाको मृत्यु भएको दाबी गरेको छ ।

संयुक्त राष्ट्रसंघले न्यायिक हिरासतमा भएका हिंसा, गिरफ्तारी र मृत्युका घटनाको निष्पक्ष र पारदर्शी ढंगले अनुसन्धान हुनुपर्ने बताउदै हिंसामा ६५० जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघले बंगलादेशमा भएको हिंसाबारे १० पृष्ठको प्रतिवेदन सार्बजनिक गरेको छ । रिपोर्टका अनुसार जुलाई १६ देखि अगस्ट ४ सम्मको हिंसामा झण्डै ४ सय जनाको मृत्यु भएको थियो । ५-६ अगस्टमा भएको हिंसामा करिब २५० जनाको ज्यान गएको रिपोर्टमा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले शुक्रबार जेनेभामा यो प्रतिवेदन सार्वजनिक गरेको हो । रिपोर्टका अनुसार मृत्यु हुनेमा प्रदर्शनकारी, दर्शक, पत्रकार र विभिन्न बलका सुरक्षाकर्मी रहेका छन् । हिंसामा हजारौं मानिस घाइते समेत भएका छन् ।

धेरै क्षेत्रमा कर्फ्यू लगाइएका कारण जानकारी सङ्कलन गर्न कठिनाइ भएकोले मृत्यु हुनेको सङ्ख्या अझ बढी हुन सक्ने संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ । सरकारले अस्पताललाई जानकारी दिन पनि रोकेको रिपोर्टमा उल्लेख छ । बंगलादेशमा गत जुनमा आरक्षणको विरोधमा प्रदर्शन सुरु भएको थियो। आन्दोलनका क्रममा सुरक्षाकर्मीले मानवअधिकार उल्लङ्घन गरेको आरोप पनि लागेको थियो । 

प्रतिवेदनमा धार्मिक अल्पसंख्यकहरू विरुद्ध लुटपाट, तोडफोड र आगजनीका घटनाहरू पनि भएका छन् । प्रतिवेदनले बंगलादेशमा द्रुत रूपमा कानून र व्यवस्था पुनर्स्थापना गर्न आवश्यक रहेको बताएको छ भने हिंसाका दोषीहरूलाई जवाफदेहीता निर्धारण गर्न आवश्यक रहेको उल्लेख गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै