• २०८१ असोज २ बुधबार

सहकारी ठगीको आरोप बारे धनराज गुरुङले संसदमा के भने ?

kharibot

काठमाडौं । नेपाली कांग्रेस सांसद धनराज गुरूङले सहकारीको रकम अपचलन गरेको आफूमाथि लागेको आरोपमा कुनै सत्यता नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरूङले कुनै पनि सहकारीबाट आफूले रकम नलिएको र अपचलन पनि नगरेको दावी गरेका हुन् । उनले आफूमाथि लागेको आरोपको छानबिन गर्न समेत सरकारसँग माग गरेका छन् ।

ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरूङले सहकारीको बचत दुरूपयोगको छानबिन गर्न गठित छानबिन समितिमा धनराज गुरूङ र उनकी श्रीमती ज्योति गुरूङ सगोलमा रहँदाका बखत रकम दुरूपयोग भएको बयान दिएपछि गुरुङले त्यसको जवाफ संसदलाई दिएका हुन् ।

कांग्रेस उपसभापति समेत रहेका धनराज र उनकी श्रीमती ज्योतिमाथि सहकारीको १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । सांसद गुरूङले ज्योति गुरूङसँग सम्बन्ध विच्छेद भइसकेकाले उनले गरेका गतिविधिसँग आफ्नो नाम मुछ्नु अन्यायपूर्ण हुने जिकिर गरेका छन् ।

'सहकारीको रकम अपचलनको निष्पक्ष छानबिन गर्नुपर्छ भन्ने आवाजलाई जोडदाररुपमा उठाइरहेका बेला हिजोदेखि केही सञ्चारमाध्यमहरूमा मेरो नाम जोडिएर आएको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । कुनै पनि व्यापार व्यवसायमा श्रीमान् या श्रीमती दुईमध्ये एकजना जोडिदा अर्कोलाई  पनि मुछिएर हेर्ने र बुझ्ने हाम्रो प्रचलन छ । यसकारण मलाई त्यसमा जोड्न खोज्न अनौठो होइन । तर, भूतपूर्व श्रीमान् या श्रीमतीलाई जोड्न व्यवहारिक, कानुनी र नैतिक दृष्टिले पनि मिल्दैन भन्ने हेक्का राखिनुपर्छ। विवाह गर्नु के अपराध हो ? होइन । मिल्न नसक्दा सम्बन्ध विच्छेद गर्नु के अपराध हो ? त्यो पनि होइन । नेसनल मण्डला र उनकी श्रीमती बिनी मण्डलाबीचमा पनि  सम्बन्ध विच्छेद भएको थियो । नेसनल मण्डेलाकी पूर्वश्रीमती बिनी मण्डेलका केही मुद्दाहरू पनि सम्बन्ध विच्छेद पछि आए । तर, नेसनल मण्डलालाई त्यसबारे प्रश्न गरिएन । बरु त्यहाँ यो भनियो कि वैवाहिक सम्बन्ध कायमै छँदा पनि एउटाको अपराधको सजाय अर्कोलाई बोकाउन नैतिक कानुनले दिदैन । सम्बन्ध विच्छेद भइसकेपछि त झनै मिल्दै मिल्दैन,'उनले भने,'जुन सहकारीको प्रबन्ध निर्देशक भनिएकी ज्योति गुरूङसँग सम्बन्ध बिग्रिएपछि २०७६ फागुन २९ गते सम्बन्ध विच्छेद भएको हो ।'

उनले सहकारीको रकम अपचलनको छानबिनमा आफूले सक्दो सहयोग गर्ने बताए । उनले भने,'समस्या समाधान गर्न  संस्थाको अध्यक्ष, प्रबन्ध निर्देशक, सञ्चालक समितिका सदस्यहरू क-कसलाई छानबिन गर्नुपर्ने हो तुरून्त छानबिन गरियोस् । यदि यो विषयमा ममाथि कुनै आशंका छ भने ममाथि पनि छानबिन गरियोस् । कुनै पनि गल्ती गर्ने व्यक्तिलाई उन्मुक्ति दिनु हुन्न भन्ने विषयमा म अडिग छु ।'

आफूमाथि लागेको आरोप छोप्न गुरूङले नक्कली विवाह गरेको हो भन्ने रास्वपा सांसद गणेश पराजुलीलाई प्रमाणित गरेर देखाउन चुनौती समेत दिए । सोमबारको संसद बैठकमा पराजुलीले बचत ठगीमा गुरूङमाथि छानबिन हुन्छ कि हुँदैन भन्दै प्रश्न गरेका थिए । सहकारी ठगी लुकाउन गुरूङले सम्बन्धविच्छेद गरेको उनको आरोप थियो ।

'हिजो मात्रै यही सदनमा एकजना माननीयले उक्त सम्बन्ध विच्छेद नक्कली भएको बताउनु भएको रहेछ। हुन त जसले नक्कली कुरा गर्छ त्यसले पनि अरुलाई नक्कली नै देख्छ । उहाँले जुन नक्कली भन्नु भएको छ। त्यस नक्कलीलाई नक्कली नै हो भनेर प्रमाणित गर्न चुनौती दिन चाहन्छु ।'

उनले थपे,'परिवारमा दरार आएपछि १० वर्षे बच्चा हुर्काउनुको पीडा म आफैसँग छ। सम्बन्ध विच्छेदपछि पूर्व श्रीमतीबारे जानकारी हुने कुरै भएन। मित्रले भनेजस्तो छानबिन संसदीय छानबिन गर्न म  तयार छु। मेरा लागि यो सुवर्ण अवसर हुनेछ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै