काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्याह्मु गाउँपलिकाको वडा नम्बर ५ स्थित थामे वस्तीमा आएको बाढीले हालसम्म १ विद्यालय होस्टल, १ क्लिनिक, ५ वटा होटल र ७ वटा घर सहित १४ वटा भवनहरु पूर्ण रुपमा बगाएको छ ।
गाउँपालिकाका अनुसार शुक्रबार दिउँसो १:२५ बजे आएको लेदोसहितको बाढीले हालसम्म १ विद्यालय होस्टल, १ क्लिनिक, ५ वटा होटल र ७ वटा घर सहित १४ वटा भवनहरु पूर्ण रुपमा वगेका छन् भने अन्य घरमा समेत बाढी पसी धनमालको व्यापक क्षति पुर्याएको छ ।
गाउँपालिकाले अहिले सो वस्तीमा पुग्न नसकिको उल्लेख गर्दै शनिबार बिहानदेखि उद्वार तथा राहत कार्य हुने जनाएको छ । बाढीबाट अहिलेसम्म कुनै किसिमको मानवीय क्षति भने नभएको बताइएको छ ।
साथै गाउँपालिकाले थप उद्वार, राहत तथा पुनःस्थापनाको लागि संघीय सरकार, प्रदेश सरकार एवं गैर सरकारी संघ संस्थावाट सहयोग र सहकार्यको अपेक्षा गर्दै विपद्को घडीमा सम्यमताका साथ उद्वार, राहत तथा पुनःस्थापनाको कार्यमा जुट्न अपिल समेत गरेको छ ।