• २०८१ कार्तिक २ शुक्रबार

मिडियामा कोरोना महामारीको प्रभाव लामो समयसम्म रहन्छ- गोविन्द ढकाल, उप महाप्रबन्धक, हिमालय टिभी

kharibot

काठमाडौँ । गोविन्द ढकाल मिडिया र विज्ञापन क्षेत्रमा परिचित नाम हो । हाल ढकाल हिमालयन टिभीमा उप महाप्रबन्धकको रुपमा कार्यरत छन् । त्यसअघि नयाँ पत्रिका र कान्तिपुर मिडिया ग्रुपमा लामो समय काम गरेको अनुभव उनीसँग छ । कोरोना महामारीले विश्व मै मिडिया क्षेत्रलाई ठुलो असर गरिरहेको अहिलेको अवस्थामा हामीले ढकालसँग अहिले नेपालको मिडिया क्षेत्रका समस्या र आउदा दिनका चुनौतीको विषयमा केन्द्रित भएर कुराकानी गरेका छौं ।

- कोरोना महामारीले मिडिया क्षेत्रलाई कस्तो असर गरेको छ ?

सबै क्षेत्र जस्तै कोरोनाले मिडिया क्षेत्रलाई पनि ठुलो असर गरेको छ । मिडियाको आम्दानीको प्रमुख स्रोत विज्ञापन नै हो । खासगरी सबै व्यापार व्यवसाय बन्द भएको अहिलेको अवस्थामा विज्ञापन गर्ने अवस्था छैन । त्यसैले मिडियालाई कोरोनाले सिधै असर गरेको छ । अझ आम उपभोक्ता र मिडियाका दर्शक तथा पाठक नै आफ्नो जीवन मरणको लडाईमा भएकाले अहिले मिडियामा यसको सिधै असर परेको देखिएको छ ।

अर्को कुरा कोरोनाको असर दिर्घकालसम्म नै पर्ने देखिन्छ । आम दर्शक तथा पाठकको मिडियालाई हेर्ने र प्रयोग गर्ने दृष्टिकोणनै कोरोना महामारीले विस्तारै परिवर्तन गरेको देखिन्छ । त्यसैले अब खासगरी परम्परागत मिडियाले दर्शक पाठकका अगाडी फरक ढंगले प्रस्तुत हुनुपर्ने चुनौती रहेको छ ।

-महामारीले सिर्जित समस्याको वैकल्पिक समाधान केहि छ त ?

कोरोना महामारी यस्तो विश्वव्यापी समस्या बन्यो, जसको समाधान नै अहिले अनिश्चित देखिएको छ । विश्वका ठुला ठुला देश नै यस महामारीको अन्त्यका उपाय खोज्न लागि रहेका छन् । यस परिपेक्ष्यमा नेपाल आफैले केहि गर्न सक्ने अवस्था देखिदैन । मिडियाको सम्बन्ध व्यवसाय, कर्पोरेट र उपभोक्तासँग सिधै हुने हुनाले यी महामारीको अन्त्य नभएसम्म यसको मिडिया हुने असरको समाधान गर्ने वैकल्पिक उपाय देखिदैन ।

-महामारीमा मिडियाले खेलेको भूमिकामा प्रश्न उठिरहेको छ, मिडियाको आम्दानी घटेको छ आफ्नो ठाउमा छ र मिडियाले खेल्नुपर्ने भूमिका कसरी खेलिरहेको छ ?

मिडियाको काम जहिले पनि सहि सूचना आम जनतासँग पुर्याउने हो, जो अहिले पनि गरिरहेको छ जस्तो मलाई लाग्छ । केहि मिडियाले विषयलाई अतिरन्जित गर्ने र आफूप्रति ध्यान आकर्षित गर्ने प्रयास गरेको देखिन्छ । यो नयाँ कुरा होइन । यस्तो पहिला पनि हुन्थ्यो, अहिले पनि हुदै छ र पछि पनि हुने छ । अहिले आम दर्शक तथा पाठक बढी सचेत रहेकाले सहि सूचना र समाचार दिने मिडियालाई उहाँहरुले पहिचान गर्नु भएको छ र केहि समयमा गर्नुहुन्छ भन्ने लाग्छ ।

- महामारीले मिडियामा परेको असरले समग्र उद्योग र रोजगार क्षेत्रमा कस्तो प्रभाव पार्छ ?

अवश्य पनि मिडियाको आम्दानी घटेपछि त्यसको प्रत्यक्ष असर त्यहाँ काम गर्ने कर्मचारीलाई नै पर्छ । नेपालमा मिडियामा काम गर्नेको संख्या ठुलो छ । मिडियाको आम्दानी घटेपछि उनीहरुले समयमा पारिश्रमिक नपाउने र कतिको रोजगार गुम्ने निश्चित रुपमा हुने देखिन्छ । यसको साइज कत्रो हुन्छ त्यो अहिले भन्न सकिन्न ।

-सरकारले संकटमा परेको मिडिया क्षेत्रलाई केहि सहयोग गरेको छ ?

अहिलेसम्म त्यस्तो ठोस सहयोग गरेको देखिदैन । सरकारले पनि स्पष्ट नीति बनाएर सहयोग गर्न प्रतिबद्ध भएको पनि देखिदैन । राजनीतिक रुपमा सहयोग गर्छौं भन्नु र ठोस कार्यक्रम ल्यार सहयोग गर्नु फरक कुरा हुन् । महामारीका कारण सरकार आफु संकटमा परेको बेला मिडियालाई सहयोग गरेन भन्ने ठाउ पनि छैन । महामारी नसकिएसम्म अहिलेको समस्याको ठोस समाधान नै देखिदैन ।

- कोरोना महामारीले अब घरबाटै काम गर्ने चलन विश्वमा शुरु भएको चर्चा छ, नेपालका मिडियामा पनि त्यस्तो शुरु भएको छ ?

अवश्य पनि अत्यावश्यक बाहेक र सम्भव हुने कम घरबाट गर्ने क्रम नेपालको मिडियामा मात्र होइन, कर्पोरेट क्षेत्रमा पनि शुरु भएको छ । यसले अहिलेको महामारीका बेला हामीलाई कम्तिमा सुरक्षित राख्न सहयोग गर्छ नै । रह्यो काममा प्रभावकारिताको कुरा त्यो अहिले विश्लेषण गर्ने समय भएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै