• २०८१ असार १९ बुधबार

अपाङ्गता भएकालाई निःशुल्क व्हील चेयर र कमोट चेयर प्रदान

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने अपाङ्गता भएका २५ जना व्यक्तिलाई ह्वील चेयर, ११ जनालाई सामाजिक विकास विभागले कमोट चेयरसहित सहायता सामग्री, खेल, खेलौनाजस्ता सहायक सामग्री निःशुल्क उपलब्ध गराइएको छ ।

वडाबाट शिफारिस भएका सबै प्रकारको अपाङ्गता भएका व्यक्तिहरुका लागि विभागले सामग्री उपलब्ध गराएको हो । यसरी प्रदान गरिएका सहायक सामग्रीमा वकर, सेतो छडी, कमरपेटी, छन् भने खेल सामग्रीमा फुटबल, क्यारिम वोर्ड, व्याटमिन्टन, बास्केट बल, स्टीलको लठ्ठी, सानो, मध्यम र ठूला साइजका डाइपर, इलेक्ट्रिक हट व्याग, पुतलीहरु, रेजिस्ट्याण्ड व्याण्ड, ह्याण्ड बल, क्रिकेट बल र व्याट, खेल खेल्ने रिङ्, टेडी वियर, रबरको घोडा छन् । यसरी प्रदान गरिएका सामग्री अपाङ्गता भएका व्यक्तिहरुलाई खेल्न तथा थेरापीका लागि हुन् । 

सामग्री वितरण हुनुअघि उहाँहरुलाई सामग्री प्रयोग गरेर जीवनलाई सरल बनाउने विधि सिकाइएको थियो । 

कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य महेश नेपालीले भने, ‘अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, सुरक्षा, सम्मान र सहज जीवन यापनका लागि महानगरपालिकाले कार्यक्रम वढाउँदै लैजानेछ । सम्भव भएसम्म सामान्य जीवन बनाउन सहयोग गर्नेछ ।’

सबै प्रकारको अपाङ्गता भएका व्यक्तिहरुका लागि यसरी सामग्री बाँडिएको यो पहिलो पटक हो । कार्यक्रममा सामाजिक विकास विभागका प्रमुख बिमला कोइरालाले भने, ‘फिजियोथेरापीसहितको सहयोग कार्यक्रम सञ्चालन गर्ने अबको योजना हो । जसले जस्तो खालको सहयोग माग गर्नुहुन्छ । उहाँहरुलाई वडाको शिफारिसमा त्यस्तै सहयोग उपलब्ध गराउने छौँ ।’ विभागले आउँदो बर्ष राष्ट्रिय अपाङ्ग कोषसँगको सहकार्यमा सामग्री वितरण गर्दै जाने योजना बनाएको छ । 

अपाङ्गता भएका व्यक्तिहरुलाई लागत सहभागिता गराउँदा उनीहरु सामग्री लिन अस्वीकार गर्नुहुन्छ । कोषका अध्यक्ष डेकराज भट्टराईले भने, महानगरपालिकाको सहयोगबाट आउँदो बर्ष कोषले यस्ता सामग्री उत्पादन र वितरण गर्नेछ । 

यस्ता सामग्री विग्रिए भने मर्मत गर्नका लागि बालाजु स्कूल अफ इञ्जिनियरिङ् एण्ड टेक्नोलोजीका मेकानिकल शाखा प्रमुख कुलप्रसाद तिमिल्सिनाले महानगरपालिकासँगको सहकार्यका बारेमा उल्लेख गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै