• २०८१ असार १८ मंगलबार

बिहारमा दश दिनभित्र पाँचवटा पुल भत्किए

kharibot

काठमाडौँ । भारतको बिहारमा दश दिनभित्र पाँचवटा पुल भत्किएका छन् । राज्यको अररिया, सिवान, पूर्वी चम्पारण, किशनगञ्ज र मधुबनी जिल्लामा पुलहरू भत्किए पछि यसको चर्चा सबै तिर भइरहेको छ ।

भत्किएका पाँच पिल मध्ये तीमध्ये तीन वटा निर्माणाधीन र दुई वटा निर्माण भइसकेका रहेको मिडिया रिपोर्टमा उल्लेख छ । ग्रामीण निर्माण विभागका पुल कन्सल्टेन्ट इन्जिनियर बीके सिंहले अररियाको बक्रा खोलामा भत्किएको पुलबाहेक बाँकी सबै ‘दुर्घटना’ भएको दाबी गरेको रिपोर्टमा उल्लेख छ ।

राज्यमा पहिलो पटक १८ जुनमा, अररिया जिल्लाको सिक्टी ब्लकमा पुल भत्किएको थियो । यो पुल अररिया, सिक्टी र कुर्साकान्तका दुई ब्लक जोड्न निर्माण भइरहेको थियो ।

जुन १८ को दिउँसो २ बजे सिक्टीको पण्डरिया घाट नजिक बनेको यो पुलका दुई पिलर पूर्णरुपमा भत्किएको थियो भने छ वटा पिलरमा क्षति भएको थियो । वर्षाका कारण बक्रा नदीको पानीको बहाव बढेपछि पुलको चाप सहन नसकेर उद्घाटनअघि नै भत्किएको थियो ।

त्यसपछि जुन २२ मा बिहारको सिवानको गण्डक नहरमा बनेको कल्भर्ट भत्कियो । महाराजगञ्ज र दारुण्डा ब्लक जोड्ने यो कल्भर्ट ३४ वर्ष पुरानो थियो । स्थानीय बासिन्दाले बताए अनुसार यो पुलले पाटेधा र रामगढ नामक दुई पञ्चायतलाई जोड्ने गर्दथ्यो । यो २० फिट लामो थियो । गण्डक नहरमा पानी आएपछि ओभरफ्लो भएर तल खसेको थियो । 

जुन २२ गते राति पूर्वी चम्पारणको घोरासहन ब्लकको अमवामा निर्माणाधीन पुल भत्किएको थियो । १ करोड ६० लाखको लागतमा निर्माण भएको यो पुल अमवादेखि चैनपुर स्टेशन जाने सडकमा निर्माण हुन लागेको थियो । 

घोडा सहनपछि जुन २६ मा किशनगञ्ज जिल्लाको मारिया नदीमा बनेको १३ वर्ष पुरानो पुल भत्किएको थियो । अविरल वर्षाका कारण जिल्लाको बहादुरगञ्ज ब्लकको गुबाडी पञ्चायत नजिकको यो पुल भत्किएको हो । यो पुल भत्किँदा करिब १५ गाउँको जनसंख्या प्रभावित भएको छ ।

किशनगञ्जमा पुल भत्किएपछि गत जुन २८ मा मधुबनीको झाँझरपुर उप–डिभिजनको मधेपुर ब्लकस्थित भुटही बलान खोलामा निर्माणाधीन पुलको गर्डर खसेको थियो । २ करोड ९८ लाखको लागतमा निर्माण भएको यो पुलले मधेपुर ब्लकको भेजाकोसी बाँधबाट महापथिया जाने सडक जोड्ने छ । चाखलाग्दो कुरा के छ भने, यो पुल निर्माण कार्य वर्षामा भएको थियो ।

बिहारमा पुल भत्किने घटना यो पहिलो पटक होइन । तर दश दिनभित्र पाँचवटा पुल भत्किएको यो पहिलो पटक हो ।

बिहार विधानसभामा विपक्षी दलका नेता तेजस्वी यादवले सरकारको आलोचना गर्दै भनेका छन्, ‘आजको नेतृत्वमा रहेको ६ दलको डबल इन्जिन एनडीए सरकारमा पुल भत्किँदा जनताको करोडौंको नोक्सान भइरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नितिश कुमारको नेतृत्वले यसलाई ‘भ्रष्टाचार’को सट्टा ‘शालीनता’ भनेका छन् ।

बिहारमा पुल भत्किने विषयलाई लिएर चर्को राजनीतिको एउटा प्रमुख कारण राज्यमा यस्ता घटना लगातार भइरहेका छन् । बिहारमा विगत चार वर्षमा यस्ता करिब १० वटा पुल भत्किएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै