• २०८१ असोज १३ आइतबार

पोखरेललाई दुई दिन एआइजी बनाउन गृहमन्त्री लामिछानेको दबाब

kharibot

काठमाडौं । गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक नियुक्तिका लागि सिफारिस गरेको छ । ५६ वर्षे उमेर हदका कारण एआइजी उमेशराज जोशीले अवकाश पाउनुअघि नै दुई दिनका लागि पोखरेललाई एआइजी बनाउन लागिएको हो ।

गृहसचिव बढुवा समितिको अध्यक्ष रहने सिफारिस समितिले पोखरेललाई सोमबार एआइजी बनाउने निर्णय गरेको हो । एआइजी जोशीले असार २० गते राति अवकाश पाउँदैछन्। त्यही रातबाट एआइजी हुने गरी पोखरेल सिफारिस भएका छन् । उनी पनि २२ गते रातिबाट अवकाशमा जान्छन्। एकाध दिनकै लागि राज्यलाई आर्थिक व्ययभार पर्ने गरी पोखरेललाई जबरजस्ती एआइजी बनाउन भने गृहमन्त्री रवि लामिछानेको जोडबल हो ।

यसअघि वसन्त लामालाई ३४ घन्टाका लागि एआइजी बनाएको इतिहास नेपाल प्रहरीमा छ। त्यही विकृतिको निरन्तरतास्वरुप निकटकालाई विशिष्ट श्रेणी पदमा पुर्‍याउन लामिछानेले दबाब दिएको गृह स्रोत बताउँछ । स्रोतका अनुसार पोखरेल लामिछानेका वकिल सुशील पन्तका भान्जा पर्छन्। पोखरेललाई एआइजी बनाउन सल्लाह उनका अघोषित सल्लाहकार पूर्वएआइजी दिवेश लोहनीले दिएको बताइएको छ । लोहनी उनै अधिकारी हुन्, जसले लामालाई ३४ घन्टे एआइजी बनाउँदा विरोध गरेका थिए 

पोखरेल लोहनीका साँढुभाइ हुन्। दुई दिन बन्ने एआइजीले प्रहरी कार्यसम्पादनमा कुनै पनि खालको अनुभव र भूमिकामा सहयोग गर्न नसक्ने हुनाले यो पोखरेललाई विशुद्ध पदमा पुर्‍याउनकै लागि मात्रै हो । प्रहरी तथा निजामती प्रशासनमा विशिष्ठ श्रेणीको मूल्यांकन उच्च छ। अवकाशपछिको सेवा सुविधा तथा पदीय हैसियत बढ्ने भएकाले प्रहरीमा विशिष्ट श्रेणी पुग्न चाकडी र मरिहत्ते चल्ने गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखामा कार्यरत् पोखरेल प्रहरी कार्यसम्पादनमा औषत मानिन्छन् ।

बढुवा समितिमा सदस्य सचिव रहेका प्रहरी महानिरीक्षक वसन्त कुँवर सोमबार अमेरिका जाँदैछन् । आफू अमेरिका जानुअघि उनले पोखरेललाई एआइजी सिफारिसमा सहमति दिएका हुन् । कुँवर र गृहमन्त्री लामिछानेको सम्बन्ध हार्दिक छैन। कुँवरलाई नै हटाउने योजनामा लामिछाने लागिपरेका छन्।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै