• २०८१ असार ४ मंगलबार

कोशी प्रदेश विकास परिषद्को सदस्यमा १५ जना मनोनित

kharibot

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश विकास परिषद्को सदस्यमा १५ जनालाई मनोनित गरेको छ । प्रदेश सरकारको जेठ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले परिषद् सदस्यमा उद्योगी, व्यवसायी एवं पेशाकर्मीहरूलाई मनोनित गरेको हो ।

सरकारले प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ को उपदफा २ (छ) बमोजिम प्रदेश विकास परिषद्का सदस्य मनोनित गरेको हो ।

मनोनित हुनेमा झापाका जीतबहादुर कार्की, राधिका ओझा, भवानीप्रसाद दंगाल, विराटनगरका प्रतिभा रिजाल, टीकाराम पुरी, राधा अधिकारी, संखुवासभाकी बबिता कटुवाल, उदयपुर त्रियुगाका रमेशचन्द्र रोका, मोरङ बूढीगंगाकी रीता न्यौपाने, सुनसरीका भीमप्रसाद घिमिरे र सर्लाहीका एकचन्द्र बराल रहेका छन् । त्यस्तै, उद्योगीहरु महेश जाजू, नवीन रिजाल, प्रकाश मुन्दडा र सुयश प्याकुरेललाई पनि मनोनित गरिएको छ । 

प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ मा परिषद् गठनसम्बन्धी व्यवस्था छ । उक्त दफा अनुसार अध्यक्ष मुख्यमन्त्री हुने परिषद्को सदस्यमा प्रदेश सरकारका मन्त्रीहरु र मन्त्रीको कार्यभार सम्हाल्ने राज्य मन्त्रीहरु, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता, प्रदेशसभाका समितिका सभापतिहरु, आयोगका उपाध्यक्ष तथा सदस्यहरु, प्रमुख सचिव, प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता, सचिवहरु, जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुखहरू रहने व्यवस्था छ ।

त्यस्तै, उपदफा (छ) मा कानुन बमोजिम स्थापना भएका संघ वा संस्थाका प्रतिनिधि तथा निजी क्षेत्रलगायत विभिन्न क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व हुने गरी राष्ट्रिय जीवनमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरु मध्येबाट कम्तीमा एक तिहाइ महिलासहित प्रदेश सरकारबाट मनोनित १५ जनासमेत सदस्य हुने व्यवस्था छ ।

प्रदेश योजना आयोगको सचिव उक्त परिषदको सदस्यसचिव हुन्छन् ।  परिषद्को  बैठक यही जेठ  २९ गते बस्ने तयारी छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै