• २०८१ असार १२ बुधबार

कालीगण्डकी करिडोरको चराङ–छोसेर खण्ड निर्माण १८ महिनापछि पुनः सुरु

kharibot

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माण पुनः सुरू भएको छ ।

पाँच वर्षअघि नै पूरा हुनुपर्ने २५ किलोमिटर लामो यो सडकखण्ड निर्माणको काम पछिल्लो १८ महिनापछि पुनः सुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले बताए ।

‘धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनीसहित कारबाही प्रक्रिया अघि बढाएपछि ठेकेदार कम्पनीले काम पुनः प्रारम्भ गरेको छ’, उनले भने। ‘कल्भर्ट, पर्खाल र नाली निर्माण भइरहेको छ।’

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङ जोड्ने २५ किलोमिटर सडक स्तरोन्नति गर्न २०७२ सालमा तामाङ–गौरी–पार्वती–कोशी एण्ड न्यौपाने जेभीले  २६ करोडमा ठेक्का लिएको थियो । विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको सो खण्डको भौतिक प्रगति करिब ८० प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ।

एघार मिटर फराकिलो बनाउने, नाली र पर्खाल निर्माण गरी ग्राभेल गर्ने लक्ष्यसहित आयोजना सञ्चालन भएको हो। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाइका कारण यातायात सञ्चालनमा समस्या, दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको उनको भनाइ छ।

मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरलानाका जोड्ने एक सय १० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७३/७४ देखि सातवटा खण्डमा ठेक्का लगाएको थियो।

जोमसोम–कोरला सडकको छवटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकिएको छ। जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि दुई अर्ब छ करोड विनियोजन भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै