• २०८१ असार १२ बुधबार

यातायात कार्यालय गौर दलालको केन्द्र, २ जना पक्राउ

kharibot

रौतहट । रौतहट जिल्ला सदरमुकाम गौर स्थित यातायात ब्यवस्था कार्यालय देशैभरको दलालहरुको केन्द्र बनेको छ। दुई पांग्रे चारपांग्रे सवारी चालक अनुमतिपत्र पैसाको भरमा सजिलै पाईने हुँदा गौर कार्यालय देशभरीको दलालको लागी आकर्षणको केन्द्र बनेको हो ।

यसैबीच गौरको ट्रायल सेन्टरबाट दुई जना दलाललाई आईतवार प्रहरीले पक्राउ गरेका छन्।ट्रायल सेन्टरमा दलालहरुले लाईसेन्स बनाई दिने भन्दै सेवाग्राही संग रकम असुलको गुनासो आएपछि दुईजना दलाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।

पक्राउ पर्नेमा चितवन भरतपुर १० बस्ने वर्ष ४५ को रमेश पाठक र गौर नगरपालिका १ बस्ने बर्ष ४८ को श्याम नारायण साह रहेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् । पक्राउ परेका दुवैजना माथि मुद्दा दर्ता तथा म्याद थपको प्रक्रिया जारिरहेको तथा प्रक्रिया पूरा भएपछि घटनाबारे पूर्ण बिवरण सार्वजनिक गर्ने डिएस्पी गिरीले बताएकी छिन् ।

पछिल्लो समय यातायात कार्यालय गौरमा हरेक समय स्थानिय देखि काठमाडौं सम्मका दर्जनौं दलाल घुमिरहेको देख्न सकिन्छ। दलाल मार्फत खुलेयाम रकम लिएर चालक अनुमतिपत्र खरिद बिक्रि हुनेगरेको गुनासो बढ्दै गएको छ। स्कुटर, जीप, कार, टेम्पु, ट्याक्टर लगायतका सवारी साधनको अनुमति पत्र वितरण तथा सवारी साधनको नविकरण, सवारी दर्ता, सवारी जाँचपास र नामसारी लगायतका कार्यको लागी आर्थिक लेनदेन दलाल मार्फत हुनेगरेको सेवाग्राहीले गुनासो गरेका छन। कार्यालयका प्रमुख अरविन्द दासले आरोपको खण्डन गरेका छन् ।

तर प्रत्यक्षरुपमा जुन समय जाँदा पनि दलाल लाई कार्यालयमा देख्न सकिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै