• २०८१ असार ४ मंगलबार

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

kharibot

काठमाडौँ । सुनसरीको देवानगंज गाउँपालिका-६ तिनुवा नहरबाट अवैध लागूऔषध गाँजा करिब २८ किलो ३ सय ग्रामसहित धरान उपमहानगरपालिका-१६ बस्ने २० वर्षीय अर्जुन राई समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी राजगंज सिनुवारीबाट खटिएको प्रहरीले को.१ ह २०५२ नम्बरको अटोलाई जाँच गर्दा उक्त गाँजा फेला पारी अटो चालक राई र अटोमा सवार अन्य २ जनालाई पक्राउ गरेको हो । 

त्यस्तै कैलालीको गोदावरी नगरपालिका-२ बसपार्कस्थित डोटी बैतडी होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने ३० वर्षीय प्रमोद पनेरू समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ देवरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय सेरा भन्ने सुरेन्द्र रानालाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

त्यस्तै पाँचथरको फिदिम नगरपालिका-१ बरडाडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय मिलिग्राम, ट्रामाडोल ४५ क्याप्सुल र स्पास्पेन ६ ट्याब्लेटसहित फिदिम नगरपालिका-१० घर भई सोही नगरपालिका-११ तृतिया बस्ने ३० वर्षीय हुसेन बहादुर कटुवाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

त्यसैगरी कपिलवस्तुको वाणगंगा नगरपालिका-१० कोरीया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५० मिलिग्रामसहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका-१० बस्ने ३२ वर्षीय फिरोज मुसलवान र २७ वर्षीय सलाउदिन गद्धी रहेका छन् । इलाका प्रहरी कार्यालय पिपरा कपिलबस्तुबाट खटिएको प्रहरीले लु.७ प ६५४३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

त्यसैगरी चितवनको राप्ती नगरपालिका-२ गडौली बस्ने ३६ वर्षीय सूर्य बहादुर तामाङलाई अवैध लागूऔषध गाँजा करिब ४ किलोग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 

झापा, अर्जुनधारा नगरपालिका-८ बाट अवैध लागूऔषध अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-१० ब्याड डाँडा घर बताउने २२ वर्षीय आकाश राजवंशी र अर्जुनधारा नगरपालिका-९ प्रणामी मन्दिर छेउ घर बताउने २५ वर्षीय बिकाश सहनी रहेका छन् । प्रहरी चौकी शनिश्‍चरेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

त्यस्तै पर्साको वीरगंज महानगरपालिका-१६ स्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५२ एम्पुल, फेनारगन ५२ एम्पुल, नुर्फिन ५२ एम्पुल र नाईट्राभेट ९ सय ट्याब्लेटसहित सर्लाही लालबन्दी नगरपालिका-१ नवलपुर बस्ने २८ वर्षीय सुरज बिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा तथा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्साबाट खटिएको संयुक्त टोलीले भारतको रक्सौलबाट वीरगंज बजारतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएका छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै