• २०८१ जेठ ३ बिहीबार

महानगरको न्यायिक समितिले सात वर्षमा किनारा लगायो दुई सय ८१ उजुरी

kharibot

वीरगञ्ज (पर्सा)। वीरगञ्ज महानगरपालिकाअन्तर्गतको न्यायिक समितिले पछिल्लो सात वर्षमा दुई सय ८१ वटा उजुरीको किनारा लगाएको छ । 

महानगरपालिकाका उपप्रमुखको संयोजकत्वमा गठित समितिमा आर्थिक वर्ष २०७४÷७५ देखि हालसम्म दर्ता भएका तीन ५३ उजुरीमध्ये दुई सय ८१ वटा किनारा लगाएको हो । उपप्रमुख इम्तियाज आलम संयोजकत्वको टोलीले चालु आव २०८०÷८१ को आठ महिनामा चारवटा उजुरी फछ्र्यौट गरेको न्यायिक समितिका उजुरी प्रशासक अधिवक्ता धनबहादुर थापाले जानकारी दिए ।

न्यायिक समितिमा चालु आवमा दर्ता भएको २३ वटा र अघिल्लो आव २०७९÷८० बाट सरेर आएको ४९ वटा गरी ७२ वटा उजुरी फछ्र्याैट हुन बाँकी रहेको अधिवक्ता थापाले बताए । 

उनका अनुसार न्यायिक समितिले आव २०७४÷७५ मा एक सय २६ वटा, आव २०७५÷७६ मा ७७ वटा, आव २०७६÷७७ मा ५४ वटा, आव २०७७÷७८ मा आठवटा, आव २०७८÷७९ मा चारवटा र आव २०७९÷८० मा चारवटा उजुरी किनारा लगाएको छ । 

वीरगञ्ज महानगरपालिकामा गत आव २०७४÷७५ देखि नै न्यायिक समिति गठन भएर कार्य गर्दै आएको छ । न्यायिक समितिमा आउने उजुरीमध्ये करिब ८० प्रतिशत उजुरी जग्गा विवादसम्बन्धी नै रहेको उनको भनाइ छ । 

न्यायिक समितिमा धेरैजसो उजुरी जग्गा विवाद, घर निर्माण खिचौला, लेनदेन, बालीनाली नोक्सानी, घरभाडा सम्बन्धमा आउने गरेको अधिवक्ता थापाको भनाइ छ ।

स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ ।

उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिलाई सम्बन्धबिच्छेद, जग्गा विवाद, घरभाडासम्बन्धी, गाईभैँसीले बालीनाली नोक्सानी गरेको लगायतका विवाद मेलमिलापमार्फत समाधान गर्ने जिम्मेवारी दिइएको छ । 

महानगरपालिकाको न्यायिक समितिले आफ्नो अधिकार क्षेत्रका मुद्दा मामिलालाई मेलमिलापको सिद्धान्तमा निर्णय गर्दा प्रभावकारी बनेको स्थानीयले बताएको छ ।

न्यायिक समितिमा आउने उजुरीलाई स्थानीय जनप्रतिनिधिकै सक्रियतामा सम्बन्धित पक्षबीच मेलमिलाप गराउने काम न्यायिक समितिले गरिरहेको अधिवक्ता थापाले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै