• २०८१ बैशाख १९ बुधबार

चार सय रोपनी क्षेत्रफलको धानखेतीमा रोगको प्रकोप नियन्त्रण

kharibot

दमौली (तनहुँ)। तनहुँको आँबुखैरेनी गाउँपालिकाले धानबालीमा लाग्ने रोगको प्रकोप नियन्त्रणलाई प्राथमिकता दिएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा गाउँपालिकाका सबै वडामा गरी चार सय रोपनी क्षेत्रफलको धानखेतीमा लागेको रोगको प्रकोप नियन्त्रण गरेको हो । 

कृषिबाली संरक्षण कार्यक्रमअन्तर्गत धानबालीमा लाग्ने रोग नियन्त्रणलाई प्राथमिकतामा राखिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले  जानकारी दिए ।

उनले भने, “धानबालीमा विभिन्न रोगको प्रकोप आउँछ, फड्के किराको प्रकोप, गवारोको प्रकोप, पतेरोको प्रकोपलगायतका समस्या आउँछन्, त्यस्तो प्रकोप नियन्त्रणका लागि पालिकाले योजना बनाएर काम गरिरहेको छ ।”

गाउँपालिकाका छ वडामा चार सय रोपनी क्षेत्रफलमा त्यस्ता रोगको प्रकोप नियन्त्रण गरिएको केसीले जानकारी दिए ।

उनका अनुसार कृषि बाली संरक्षण कार्यक्रमअन्तर्गत नै ४० रोपनी क्षेत्रफलमा गरिएको तरकारी बालीको रोग नियन्त्रण गरिएको छ । 

उनले भने, “यो कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्राविधिक सहयोग, विषादी र स्प्रे पम्प, व्यक्तिगत सुरक्षा सामग्री निःशुल्क प्रदान गरेको छ ।” आगामी दिनमा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि पनि गाउँपालिकाले कार्ययोजना बनाएको छ । 

उनले भने, “कृषकले खेती गरेको बालीमा बाँदर, बँदेल, मृगलगायतले क्षति पुराउँदा कृषकलाई नोक्सानी भइरहेको छ । यसका लागि के गर्न सकिन्छ त्यसतर्फ अगाडि बढेका छौँ ।” केसीले सुन्तला र तरकारीखेती गर्ने कृषकको माग तथा आवश्यकताअनुसार असिना छेक्ने जालीको व्यवस्था गरिने जानकारी दिए ।

उनले भने, “सुन्तला र तरकारी बढी उत्पादन हुने क्षेत्रका कृषकलाई असिनाबाट बाली बचाउन जाली निःशुल्क वितरण गर्छौं, त्यसका लागि कृषकबाट आवेदन माग गरिनेछ ।”

यसैगरी कृषि शाखाले कृषकलाई मकैको बीउसमेत वितरण गरेको छ । गत आर्थिक वर्षमा परेको लामो खडेरीका कारण कृषकबाट मकैको बीउ संरक्षण हुन नसकेकाले शाखाले यस वर्ष कृषक समूहलाई भूगोलअनुसारको उन्नत जातको मकैको बीउ सहयोग गरेको केसीले जानकारी दिए ।

गाउँपालिकाले निःशुल्करुपमा मकैको बीउ उपलब्ध गराएपछि कृषक खुसी भएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै