• २०८१ बैशाख २४ सोमबार

प्रधानमन्त्री ओलीद्वारा सिंहदरबारमा लिची र एबोगार्डोको बिरुवा रोप्दै हरियाली अभियानको शुभारम्भ

kharibot

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार बगैँचा’मा लिची र एबोगार्डोको बिरुवा रोपेर हरियालीमय र फलफूलमय नेपाल बनाउने सरकारको अभियानको सुरुवात गरेका छन् । 

‘सिंहदरबार बगैँचा’मा लिची र एबोगार्डोको बिरुवा रोपेर ‘एक नेपाली एक फलफूल’को बिरुवा अभियानको आज शुभारम्भ गर्दै उनले नेपाललाई फलफूल र हरियाली बनाउने अभियानमा योगदान पुर्यारउन सबैसँग आह्वान गरेका हुन् ।

विदेश निर्यात गर्न सकिने हुनाले फलफूल व्यवसाय आम्दानीको राम्रो स्रोत हुन सक्छ भन्दै उहाँले फलफूलबाट भोजनलाई सन्तुलित बनाउन र जीवजन्तुको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने विचार प्रकट गर्नुभयो । 

सो अवसरमा आँप, लिची, एबोगार्डो, अनार, अम्बा, सुन्तलालगायत गरी फलफूलका ४०० बिरुवा रोपिएको थियो । 

प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै आज मुलुकभर एक लाखको संख्यामा बिरुवा रोपण भएको जानकारी दिँदै भने, “हामी वातावरणप्रति सजग छौँ, अब एक वर्षको अवधिमा करोडौँको संख्यामा वृक्षरोपण हुनेछ । 

प्रधानमन्त्री ओलीले भने, “चेतनाको कमी, विकासको आकांक्षा र असन्तुलित विकासका कारण वातावरण केही बिग्रेको छ, वातावरणीय सन्तुलन बिग्रियो भने असाधारण विनाशकारी सामना गर्नुपर्छ । तसर्थ वातावरणीय सुरक्षित भविष्यका लागि विश्वको सामूहिक प्रयास जरुरी छ ।” 

सम्पूर्ण प्राणीको जीवन र भविष्यका लागि दिगो वातावरण संरक्षण आवश्यक रहेकामा जोड दिँदै उहाँले यसका लागि सबैले आफ्नो घर, टोल र बस्तीबाट प्रतिबद्ध भएर लाग्नु जरुरी रहेको औँल्याए । दिगो विकासका लक्ष्य हासिल गर्न सन्तुलित तथा दिगो विकास आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसतर्फ सरकार सजग एवं जिम्मेवार रहेको बताए । 

कार्यक्रममा भौतिक तथा यातायातमन्त्री रघुवीर महासेठले आफ्नो मन्त्रालयले आगामी पाँच वर्षभित्र ५० प्रतिशतसम्म विद्युतीय सवारी साधन चलाउने नीति लिएको अवगत गराउँदै सो अभियानमा सघाउन सरोकार भएका सबैमा आग्रह गरे । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षणका क्षेत्रमा उल्लेखनीय कार्य गर्न मन्त्रालयले ‘नेपाल स्वच्छ वातावरण महाअभियान, २०७५’ कार्ययोजना शुभारम्भ गरेको बताउँदै यसलाई मुलुकभर प्रभावकारी रुपमा कार्यान्वयन गर्न अन्य मन्त्रालय, प्रदेश र स्थानीय सरकारलगायत सरोकार भएकाहरुसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले दिगो विकासका लागि आर्थिक, सामाजिक र वातावरणीय विकास आवश्यक पर्ने र वातावरण संरक्षणका लागि घरघरबाट अभियान शुरु गर्नुपर्ने सुझाव दिए । 

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो महानगरले हरित र सुन्दर शहर बनाउने अभियान अघि बढाएको बताउँदै यसमा सबैको सक्रिय सहयोगको अपेक्षा गरे । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो महानगरमा आगामी साउन १ गतेदेखि प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरी कडाइका साथ लागू गरिने जानकारी गराए । 

कार्यक्रममा वातावरण संरक्षणका क्षेत्रमा योगदान पुर्याएवापत कीर्तिपुरको जलविनायक सामुदायिक वन उपभोक्ता समूह, दाङको पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र तथा सञ्चारकर्मीद्वय मुकेश पोखरेल र मनोज पौडेललाई पुरस्कृत गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै