• २०८१ बैशाख ४ मंगलबार

रोकिएन सिर्सिया नदीमा प्रदूषण, स्थानीय जोखिममा

kharibot

वीरगञ्ज (पर्सा) । कुनैबेला वीरगञ्ज महानगरवासीका लागि वरदान मानिएको सिर्सिया नदी यतिबेला अभिशाप बनेको छ । बस्ती नजिक भएर बग्ने सिर्सिया नदी केही वर्षअघि सम्म स्थानीयको पानीको प्रमुख स्रोत थियो तर पर्सा–बारा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुले नदीमा प्रदूषित पानी र फोहोर सिर्सिया मिसाएपछि नदी दुर्गन्धित भई बस्तीमा बस्नै नसकिने अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ । 

नदीमा हिजोआज पानीभन्दा बढी फोहोर बग्ने गर्छ । “केही वर्षअघि सम्म हामी सिर्सिया नदीमा नुहाउँथ्यौँ, भाँडाकुँडा धुन्थ्यौँ”, वीरगञ्जस्थित छपकैयाका स्थानीय कृष्णकुमार कानुले भने, “अहिले त्यही सिर्सिया नदी दुर्गन्धित भएकोले वरिपरि बस्न र हिँड्डुल गर्न गाह्रो छ ।” नदी वरिपरि हिँड्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था रहेको उनको गुनासो छ ।

प्रदूषणका कारण सिर्सिया नदी लेदो भएर बग्ने गरेको छ तर सिर्सिया नदीमा फोहोर मिसाउने उद्योगलाई हालसम्म सामान्य जरिवानाबाहेकको कानुनी कारबाही गरिएको छैन । नदी प्रदूषणले वीरगञ्जसहित दुई दर्जन गाउँका सर्वसाधारण विस्थापित हुने अवस्थामा पुगेका छन् । “सिर्सिया नदीको पानी दुर्गन्धित भएर बस्तीमा बस्नै नसक्ने अवस्था भइसकेको छ”, वीरगञ्ज महानगरपालिका–९ का सुभाष महतो भन्छन्, “हामी सानो छँदा यही नदीमा नुहाउने र पौडी खेल्ने गर्थ्यौं तर अहिले हेर्दाहेर्दै नदीको पानी दुर्गन्धित भएर कामै नलाग्ने अवस्थामा पुगेको छ ।” 

सिर्सिया नदीको धार्मिक र सांस्कृतिक महत्व समेत छ । “कुनै बेला छठ पर्व मनाउन सिर्सिया नदी प्रसिद्ध मानिन्थ्यो । नदी प्रदूषित भएपछि स्थानीयले नदीमा छठ पर्व मनाउनै छोडिसकेका छन्”, महतोले भने, “सिर्सिया नदीको प्रदूषण रोक्न स्थानीय तहका जनप्रतिनिधिलाई पटकपटक आग्रह गरे पनि खासै चासो देखाएनन् ।” फोहोर पानीकै कारण स्थानीयले तरकारी खेती गर्न छाडे भने नदीमा जलचर र वनस्पति मासिएको उनको भनाइ छ ।

बाराको सिमरा पश्चिममा पर्ने रामवनस्थित वन मुहान भएको सिर्सिया नदी पर्साको वीरगञ्ज हुँदै भारतको रक्सौलसम्म पुगेको छ । औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टिलरी, टेक्सटायल, घ्यू, साबुनलगायत उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौँ, खरानी, लेदोजस्ता विकार नदीमा मिसाइँदा दुर्गन्धित बनेको हो । 

नदीको प्रदूषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, विन्दवासिनी, रानीघाट, अशोकवाटिका, छपकैयासहित करिब एक दर्जन बढी गाउँ र टोलका बासिन्दा प्रभावित भएका छन् ।

सिर्सिया नदी आसपासका स्थानीयले प्रदुषण रोक्न माग गर्दै घेराउ गरेपछि २०६७ सालमा जिल्ला प्रशासन कार्यालयले सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो । उक्त समितिले नदीको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा प्रदूषणको कारक उद्योगहरु रहेको उल्लेख छ । प्रतिवेदनमा नदी प्रदूषण गर्नेलाइ अविलम्ब कारबाही गर्नुपर्ने भनी उद्योगहरुको नाम किटान गरिएको थियो ।

नदीमा फोहोर मिसाउने उद्योगलाई कारबाही गर्न १२ वर्षसम्म सिफारिस भए पनि कुनै कारबाही हुन सकेन । ती उद्योगहरुले निरन्तर नदी प्रदूषण गराइरहेका छन् । नदी प्रदूषण गर्ने उद्योग सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयले छलफलका लागि बोलाउने र प्रदूषण नगर्न निर्देशन दिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए ।

प्रदूषणमुक्त बनाउन काठमाडौँ पैदलयात्रा

उद्योगले प्रदूषित बनाएको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन दबाबस्वरुप ‘चुरे तथा वनजङ्गल संरक्षण अभियान’ले वीरगञ्जदेखि काठमाडौँसम्मको पदयात्रा गरेको छ । सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिने उद्देश्यले केही महिनाअघि अभियानका संयोजक सुनिल यादवको नेतृत्वमा पैदलयात्रा गरेका हुन् । 

प्रदूषित सिर्सिया नदीको पानी बोकेर पैदलयात्रामा निस्केको टोलीले वीरगञ्जबाट पैदलयात्रा गरी ११औँ दिनमा राजधानी काठमाडौँ पुगी सिंहदरबार अगाडि पानी पोखेर विरोध जनाएका थिए । सरकारले सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन ध्यान नदिएको भनी उनीहरु माइतीघरमा धर्नामा समेत बसेका थिए । सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दैै पटक पटक वीरगञ्जमा आन्दोलन गर्दै आएका छन् ।

महानगरद्वारा उद्योगलाई जरीवाना     

सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले अभियान चलाउँदै आएको छ । नदी प्रदूषण गर्ने जो कसैलाई कारबाही गर्ने रणनीतिअनुसार नदीमा फोहोर गर्नेलाई महानगरपालिकाले जरिवाना गर्दै आएको छ । गत एक वर्षअघि महानगरपालिकाले सिर्सिया नदीलाई प्रदूषण गर्ने पर्सा–बारा औद्योगिक कोरिडोरमा सञ्चालित पाँचवटा उद्योगलाई जनही रु तीन-तीन लाखका दरले रु १५ लाख जरिवाना गरेको थियो । 

महानगरले वीरगञ्ज महानगरपालिका–२१ स्थित ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिधी टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा नं ३२ स्थित दुर्गा पुल्प एन्ड पेपर प्रालिलाई रु तीन÷तीन लाखका दरले जरिवाना गरेको थियो ।

वीरगञ्ज महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ३७ अनुसार नदी प्रदुषित गर्ने पाँचवटा उद्योगहरुलाई कारबाहीस्वरुप जरिवाना गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । महानगगरले गत फागुनमा उद्योगहरुबाट निस्केको फोहोर सिर्सिया नदीमा फाल्ने तीनवटा ट्र्याक्टरलाई समेत नियन्त्रणमा लिई रु एक-एक हजार जरिवाना गराएको थियो । उक्त अभियानअन्तर्गत महानगरले उपप्रमुखको संयोजकत्वमा गठन गरेको सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले उद्योगहरुको अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा  नदी तटमा रहेका उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर (रसायनयुक्त फोहोर पानी, छालाको लेदो, कोइलाको छाईलगायत वस्तु) सिधै नदीमा फाल्दै आएको भेटिएको छ । फागुन ३ मा बसेको समितिको बैठकले नदी प्रदूषण गर्ने उद्योगलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

महानगरले लिखित रुपमै चेतावनी दिँदा समेत अटेर गरि उद्योगका फोहोर र रसायनयुक्त पानी सिधै नदिमा फाल्ने क्रम नरोकिएपछि पाँच उद्योगलाई जरीवाना गरिएको महानगर प्रमुख राजेशमान सिंहले बताए । ‘‘सिर्सिया नदी वीरगञ्ज सहरकै लाइफलाइन हो”, महानगर प्रमुख सिंहले भने, “त्यसकारण यो नदीलाई प्रदूषित बनाउने जोसुकै विरुद्ध महानगरले कारबाही गर्छ । नदीलाई प्रदूषणमुक्त बनाउने अभियान अब रोकिँदैन ।” तर महानगरले गर्ने सामान्य जरिवाना सिर्सिया नदी सफाइ बनाउने अभियानका लागि भने पर्याप्न नहुने स्थानीयको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै