• २०८१ बैशाख १५ शनिबार

नयाँ सत्ता गठबन्धनका के के छन् प्राथमिकता ?

kharibot

काठमाडौं । पाँच दलीय नयाँ सत्ता गठबन्धनले मंगलबार न्यूनतम साझा संकल्प सार्वजनिक गरेको छ । 

गठबन्धनले मुख्य गरि अर्थतन्त्र शिथिलता अन्त्य गर्ने, वित्तीय संस्थालाई विसंगतिमुक्त बनाउने, संघीयता कार्यान्वयन गर्ने, सेवा प्रवाह छरितो बनाउने, उद्यमशीलता, सुशासन र स्वदेशी उत्पादनमा जोड दिने, सङ्क्रमणकालीन न्याय र दिगो शान्तिलाई पूर्णता दिनेलगायत विषयलाई प्राथमिकता दिएको छ ।

साझा संकल्पमा सुस्त कर्जा प्रवाह र पुँजीगत सार्वजनिक खर्चको न्यूनताजस्ता समस्याको समाधान गर्ने, वित्तीय र मौद्रिक नीतिबीच समन्वय गर्दै, तात्कालिक र मध्यकालीन लगानी र रोजगार-मैत्री नीतिगत सुधारमा बाधा पुर्‍याउने कानुनहरू संशोधन गर्ने उल्लेख छ । 

त्यस्तै वित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगहरूका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्ने र ‘सार्वजनिक पदमा रहेका सबै भ्रष्ट, सबै निकम्मा’को रूपमा व्याप्त भावनालाई बदल्न ‘बेइमानी गर्नेले कानुनी रूपमा सजायँ पाउँछ’ भन्ने उदाहरण प्रस्तुत हुने गरी सार्वजनिक प्रशासन, न्यायालय र सम्बद्ध नियामक निकायहरूमा जवाफदेहिता सुनिश्चित गर्ने गठबन्धनले संकल्पमा उल्लेख गरिएको छ ।

त्यस्तै गठबन्धनले शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्याउन तत्काल कानुनी प्रबन्ध गर्ने र पीडितलाई केन्द्रमा राखी तथ्यको आधारमा सत्य स्थापित गरी न्याय, क्षतिपूर्ति, परिपुरण, माफी र मेलमिलापका माध्यमबाट द्वन्द्व सिर्जित पीडाको सम्बोधन गर्ने संकल्प गरेको छ । 

गठबन्धनका प्राथमिकता

१- आर्थिक शिथिलता अन्त्य गर्ने
२- वित्तीय संस्थालाई विसंगति मुक्त बनाउने
३- छरितो सेवा प्रवाहसँगै सुशासन
४- काम-रोजगारी-उद्यमशीलता र स्वदेशी उत्पादन
५- शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा
६- भौतिक पूर्वाधार विकास र अन्तर-निकाय समन्वय
७- ऊर्जा विकास, सूचना र सञ्चार
८- युवा र खेलकुद, पर्यटन, संस्कृति तथा सामाजिक सद्भाव
९- महिला सहभागिता, सशक्तीकरण र सामाजिक समावेशिता
१०- सङ्क्रमणकालीन न्याय र दिगो शान्ति
११- राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीति
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै