• २०८१ बैशाख १६ आइतबार

हिउँ पन्छाएपछि अवरुद्ध नाग्म गमगढी सडक पुन: सञ्चालन

kharibot

मुगु । कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडक खण्डमा हिउँ पन्छाएपछि अवरुद्ध यातायात  पुनः सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जुम्लाको टोलीले सो सडकखण्डको बुलबुले, सिप्टिचौर र सातमोड घुच्ची लेखमा जमेको हिउँ पन्छाएर सडक नियमित सञ्चालन गरेको हो ।

मङ्गलबार, बुधबार र बिहीबार हिउँ पर्दा यो खण्ड अवरुद्ध बनेको थियो । बिहीबार र शुक्रबार दिनभरि सडक डिभिजन कार्यालय जुम्लाले स्काभेटर र सडक रक्षकद्वारा हिउँ पन्छाएर सडक सञ्चालन गरेको सुपरभाइजर जग्गी विकले जानकारी दिए । उनका अनुसार झाड्नौलादेखि सातमोड, सिप्टिचौर हुँदै बुलबुलेसम्मको सडक खण्डमा जमेको हिउँ पन्छाइएको छ ।

हिउँद र वर्षाका समयमा दुई÷तीन महिना अवरुद्ध हुने यो सडक दुई वर्षयता सडक डिभिजन कार्यालय जुम्लाले  स्काभेटर र सडकका कर्मचारी तैनाथी राखी तुरुन्तै हिउँ, पहिरो र अन्य अवरोध हटाउनाले एक÷दुई दिनभन्दा बढी अवरुद्ध हुने गरेको छैन ।

प्रमुख पर्यटकीय गन्तव्य नेपालकै ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकको स्थलमार्गको सडक पनि यही सडक भएकाले यातायात साधनले यो खण्ड सधैँ व्यस्त हुने गर्दछ । यो खण्ड व्यस्त र पर्यटकीय मार्ग रहेकाले सिन्जा, चन्दननाथ हुँदै रारा आउने पर्यटकले सडक अवरुद्धकै कारण सास्ती नपाओस् भनेर सडक विस्तार र स्तरोन्नतिमा सडक डिभिजन कार्यालय लागेको सुपरभाइजर विकले बताए । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक ९३ किमी दूरी  रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै