• २०८१ जेठ १ मंगलबार

स्वच्छ खानेपानी पाउनु सबैको नैसर्गिक अधिकार होः मन्त्री यादव

kharibot

काठमाडौँ। खानेपानीमन्त्री महिन्द्रप्रसाद राय यादवले स्वच्छ खानेपानी उपभोग गर्न पाउनु सबै नेपालीको नैसर्गिक अधिकार भएको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठको नेतृत्वमा गोकर्णेश्वर नगरपालिका वडा नं ५, ६, ८ र ९ का खानेपानीको समस्या भोगिरहेका जनताद्वारा प्रस्तुत ज्ञापनपत्र बुझ्दै उनले खानेपानीसम्बन्धी जनताको माग न्यायोचित रहेकाले यसलाई सम्बोधन गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री यादवले भने, “काठमाडौँ उपत्यकामा वितरण गर्न ल्याइएको खानेपानीको सङ्कलन केन्द्र वरपरका प्रभावित जनताले पानी पाउनुपर्छ भन्नेमा दुई मत छैन । स्वच्छ र शुद्ध खानेपानी पाउनु सबैको नैसर्गिक अधिकार हो ।” उनले त्यस क्षेत्रका प्रतिनिधिसभा सदस्य, स्थानीय तहका प्रमुख तथा खानेपानी वितरणसँग सम्बन्धित सबै सरोकारवालासँगको छलफलपछि नागरिकका माग सम्बोधन गरिने बताए ।

ती चार वडामा बसोबास गर्ने करिब १५ हजार घरधुरीमा रहेका ६० हजार बासिन्दाले खानेपानीको समस्या झेल्दै आएको ज्ञापन पत्रमा उल्लेख छ ।

उक्त नगरपालिकाको वडा नं ९ मा मेलम्ची खानेपानी आयोजनाका ठूला पानी ट्याङ्की निर्माणाधीन छन् ।

सुन्दरी जल खानेपानी आयोजनाको मूल पाइप पनि सोही नगरपालिकाका विभिन्न तीन वटा वडा भएर गएको छ । दुवै खानेपानी आयोजनाबाट प्रभावित त्यस क्षेत्रमा २० वर्षदेखि खानेपानीको अभाव हुँदैआएको छ । 

बोरिङ गरी जमिनमुनिबाट पानी निकाल्ने क्रममा ग्याँस निस्केर टोल र समाज नै आतङ्कित हुने गरेको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

सो अवसरमा सांसद श्रेष्ठले ‘बत्तीमुनि अध्यारो’ भन्ने उखानजस्तै यहाँका जनतालाई आगामी सुक्खायाममा काकाकूलको अवस्था आउन नदिनेतर्फ ध्यान पुर्‍याउन मन्त्री यादवको ध्यानाकर्षण गराए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै