• २०८१ बैशाख २१ शुक्रबार

क्रिकेटर मनोज तिवारीले लगाए धोनीमाथि गम्भीर आरोप

kharibot

काठमाडौँ । भारतीय पूर्व क्रिकेटर मनोज तिवारीले महेन्द्र सिंह धोनीका कारण आफ्नो क्रिकेट क्यारियर सोचे जस्तो नभएको विवादित बयान दिएका छन् ।

हालै एक अन्तर्वार्ताका क्रममा तिवारीले आफुले शतक प्रहार गरेर पनि टिममा स्थान बनाउन नसकेको टिप्पणी गर्दै तत्कालिन कप्तान धोनीमाथि प्रश्न उठाएका हुन् ।

अन्तर्वार्ताका क्रममा तिवारीले आफुले मैत्रीपूर्ण खेलमा शतक प्रहार गरेपछि टेस्ट टिममा स्थान बनाउन नसकेको र आफ्नो सत्ता युवराज सिंहलाई अवसर दिइएको बताएका छन् ।

उनले भनेका छन्- 'जब मैले ६५ फर्स्ट क्लास खेल खेलेको थिएँ, मेरो ब्याटिङको औसत ६५ थियो । त्यसपछि अस्ट्रेलियाको टोलीले भारत भ्रमण गर्‍यो, र चेन्नईमा भएको मैत्रीपूर्ण खेलमा मैले १३० रन बनाएँ । त्यसपछि इंग्ल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलमा ९३ रन बनाएको थिएँ । म टेस्ट क्याप पाउने धेरै नजिक थिए, तर उनीहरूले मेरो सट्टा युवराज सिंहलाई रोजे ।'

साथै मनोज तिवारीले एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्दा प्लेयर अफ द म्याचको अवार्ड पाएपछि पनि आफुलाई बेवास्ता गरिएको आरोप लगाएका छन् ।

उनले भने- 'एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्दा प्लेयर अफ द म्याचको अवार्ड पाएपछि पनि मलाई बेवास्ता गरियो । मलाई लगातार १४ खेलमा बेवास्ता गरियो । जब आत्मविश्वास चरम सीमामा हुन्छ र कसैले यसलाई नष्ट गर्छ, त्यो खेलाडी समाप्त हुन्छ । कुनै पनि पेशामा खेलाडीको लागि आत्मविश्वास नै सबै कुरा हो ।'

मनोजले अन्तर्वार्ताका क्रममा धोनीलाई सोध्ने अवसर पाएमा आफुलाई टिममा सामेल नगर्नुको कारण सोध्ने बताएका छन् । उनले भनेका छन्- 'एमएस धोनी कप्तान थिए । यदि मैले यो प्रश्न सोध्ने मौका पाए भने म पक्कै पनि उनलाई सोध्छु कि शतक बनाएपछि मलाई किन टोलीबाट बाहिर गरियो ?'

उनले अगाडी भनेका छन्- 'विशेष गरी अष्ट्रेलियाको त्यो भ्रमणमा जहाँ कसैले रन बनाएको थिएन, न विराट कोहली, रोहित शर्मा र न सुरेश रैना । तर मैले शतक बनाएको थिए ।'

मनोज तिवारीले लगभग दुई दशकसम्म बंगालबाट क्रिकेट खेलेका थिए । फस्ट क्लास क्रिकेटमा तिवारीले १४८ खेल खेल्दै १० हजार रन बनाएका छन् । उनले ३० शतक र ४५ अर्धशतक बनाएका छन् । उनले भारतका लागि १२ एकदिवसीय र तीन टी-२० अन्तराष्ट्रिय खेल खेल्ने अवसर पाएका थिए । हालै बङ्गालका लागि रणजी ट्रफीमा अन्तिम खेल खेल्दै मनोजले सन्यास लिएपछि धोनीमाथि यस्तो आरोप लगाएका हुन् । उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रियमा भारतको प्रतिनिधित्व गरे पनि टेस्ट क्याप पाउन नसकेकोमा आफूलाई पश्चाताप भएको अन्तर्वार्तामा बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै