• २०८१ बैशाख १५ शनिबार

मुक्तिनाथ केबलकार: पर्वत, बागलुङ र म्याग्दीको पर्यटनलाई असर नगर्ने

kharibot

पर्वत । जिल्लाको मोदी गाउँपालिका–१ सेराबेंसीदेखि मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जोड्ने केबलकार निर्माण प्रक्रिया अघि बढेको छ । 

विश्वकै लामो बहुचर्चित मुक्तिनाथ केबलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटन व्यवसायमा भने असर नगर्ने आयोजनाको दाबी छ । मुक्तिनाथ केबलकार प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले यो केबलकार निर्माणपछि यस क्षेत्रको पर्यटन व्यवसाय वृद्धि हुने बताए  । 

मुक्तिनाथ जाने पर्यटक पर्वत र कास्कीको सिमानास्थित सेराबेंसीबाट चढे पनि कुश्मा, बागलुङ र म्याग्दी क्षेत्रले पनि भरपुर लाभ लिनसक्ने उनको दाबी छ । “मुक्तिनाथ जाने पर्यटक पोखराबाट मात्रै आउँदैनन्, कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग छदैछ, अर्को बलेवा विमानस्थलमा भैरहवाबाट पर्यटक झर्ने सम्भावना हुन्छ”, उनले भने, “ती पर्यटक कहाँ कुश्मा, बागलुङ र बेनीमा बस्छन् ।” 

केबलकार कम्तीमा पनि दैनिक १० हजार जना आवतजावत गर्ने क्षमताको रहेको र त्यसमा मुक्तिनाथको यात्रा गराउने कम्पनीले पर्वतको गुप्तेश्वर तथा अल्पेश्वर गुफा, बागलुङको कालिका मन्दिर, पञ्चकोट, म्याग्दीको गलेश्वर मन्दिरमा प्याकेज बनाएर पु¥याउने व्यवस्था हुने भएका कारण पनि यस क्षेत्रले प्रचुर फाइदा लिनसक्ने सुवेदीको भनाइ छ । 

अध्यक्ष सुवेदीले लगानीको स्रोत सुनिश्चित भइसके पनि सरकारी प्रक्रियाको ढिलाइले निर्माणको काम पछि धकेलिएको बताए । २० प्रतिशत स्वदेशी र ८० प्रतिशत भारतको के एण्ड आर इञ्जिनियरिङ लिमिटेडले केबलकार निर्माणका साथै लगानीसमेत गर्नेगरी सुनिश्चित भए पनि नेपालका कानुनी प्रक्रियाले प्रक्रिया पूरा गर्न काम गरिरहेको उनले बताए । 

सुवेदीका अनुसार विश्वकै लामो मुक्तिनाथ केबलकार इञ्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउन लागिएको हो । “इञ्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने प्रारम्भिक सम्झौता गरिसकेका छौँ”, उनले भने, “लागत अनुमानको लगानी सुनिश्चित भइसकेको छ ।” 

उनले इपिसिएफ मोडेलबाट बन्न लागेको केबलकार नेपालकै पहिलो ठूलो परियोजना भएको जनाउँदै ८० किलोमिटर लामो केबलकार बनाउन रु ५५ अर्ब लागत अनुमान गरिएको बताए । समझदारीअनुसार कूल लागतको ८० प्रतिशत अर्थात् रु ४४ अर्ब के एण्ड आर इञ्जिनियरिङ भारतले लगानी गर्नेछ ।

आयोजनाको वातावरणीय मूल्याङ्कन प्रतिवदेन पास हुन र सरकारसँग आयोजना विकास सम्झौता गर्न भने अझै बाँकी रहेको छ । चार धाममध्ये दर्शनका लागि मुक्तिनाथ पुग्नैपर्ने धार्मिक मान्यताअनुसार मुक्तिनाथ जाने धार्मिक पर्यटकको उपस्थिति बढ्ने उनको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै