• २०८१ बैशाख १६ आइतबार

उदय रिघा बुद्ध विहारलाई व्यवस्थित गरिँदै

kharibot

ढोरपाटन (बागलुङ)।  बागलुङको गलकोट नगरपालिका–११ स्थित उदय रिघा बुद्ध विहारलाई व्यवस्थित गर्न थालिएको छ ।

झण्डै १२ वर्ष अघि निर्माण सुरु गरिएको उक्त बुद्ध विहार गत वैशाखमा सम्पन्न भएको हो । सीमित स्रोतसाधनबाट निर्मित बुद्ध विहारलाई व्यवस्थित गरी पर्यटन प्रबधनका लागि यस वर्ष व्यवस्थित गर्न थालिएको छ । 

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाखमा रिघा बुद्ध विहारको तला थप्नेसँगै प्रतिक्षालय निर्माण र बगैँचा बनाउन लागिएको छ । 

आकर्षक शैलीमा निर्माण गरिएको बुद्ध विहारका कारण आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुन थालेका छन् । 

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग नजिकै रहेको हुँदा धेरै पर्यटक यहाँ पुग्न थालेका छन् । बुद्ध विहार स्थानीयको जनश्रमदानसहित करिब रु एक करोडको लागतमा निर्माण भएको हो ।

यसलाई व्यवस्थापन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेपछि थप आकर्षक र व्यवस्थित बनाउन थालिएको गलकोट–११ का अध्यक्ष डम्मर श्रीसले बताए ।

करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको सो विहारलाई आर्थिक अभावका कारण सोचेअनुसार बनाउन नसकेको उनको भनाइ छ ।

विहार क्षेत्रमा पर्यटकको सुविधाका लागि प्रतिक्षालय, खानेपानी व्यवस्थापन बगैँचा, पदमार्ग, पोखरी निर्माण गर्ने, बनभोज स्थल निर्माण गर्ने योजना छ । यस वर्ष बुद्ध विहारको तला व्यवस्थापनसँग त्यस वरपर व्यवस्थित बगैँचा बनाउने र प्रतिक्षालय निर्माण गर्नेगरी योजनाको काम अगाडि बढेको अध्यक्ष श्रीस बताउछन् ।

“बजेट अभावले १२ वर्षपछि मात्रै बुद्ध विहार निर्माण गर्न सकिएको हो”, उनले भने । नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बुद्ध विहारका लागि नगरपालिकाले बर्सेनि बजेट विनियोजन गर्दै आएको बताए ।

यस क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेर विकास गर्न थालेको उनको भनाइ छ । बुद्ध विहार गलकोटको महत्वपूर्ण पर्यटकीय क्षेत्र रहेको उल्लेख गर्दै प्रवक्ता भण्डारी अन्य संरचना निर्माणमा जोड दिइएको बताउछन् । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै