• २०८१ श्रावण १२ शनिबार

कांग्रेससँग प्रचण्ड असन्तुष्ट

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेससँगको गठबन्धनमा माओवादीलाई घाटा भएको बताएका छन् ।

सोमबार पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा बोल्दै प्रचण्डले कोशीको धोकाले गठबन्धनबारे सोच्नुपर्ने अवस्थामा पुगेको प्रतिक्रिया दिएका हुन् । उनले भने- 'कोशीमा कांग्रेसले दिएको धोकाले गम्भीर बनाएको छ । यसले गठबन्धनमा सोच्नुपर्ने ठाउँमा हामीलाई पुर्‍याएको छ ।'

प्रचण्डले प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले दिएको धोकाको विषयमा गम्भीर छलफल भइरहेको समेत बताएका थिए ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले खरीबोटलाई बताए अनुसार प्रचण्डले काँग्रेससँगको माओवादीको गठबन्धन लाभदायक नभएको बताएका थिए । उनले बैठकमा अहिले गठबन्धनको गम्भीर समीक्षा गरिरहेको बताउदै नयाँ गठबन्धन बनाउने तहसम्म भने नपुगेको बताएका थिए ।  

कोशीमा सत्ता गठबन्धनबीच माओवादी केन्द्रलाई मुख्यमन्त्री पद दिने सहमति भएको थियो । तर मुख्यमन्त्रीमा दाबी पेश गर्ने दिन कांग्रेसको शेखर कोइराला पक्षका केदार कार्कीले एमालेको समर्थनमा बहुमत जुटाएर आफैं दाबी पेश गरेपछि माओवादीले आफ्नो मुख्यमन्त्री बनाउन असफल भएको थियो  ।

त्यसपछि माघ ११ मा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कोशीमा माओवादी केन्द्रकी उम्मेदवार चम्पा कार्की एमाले उम्मेदवारसँग पराजित भएकी थिइन् ।

सत्तारुढ गठबन्धनका दलहरु मिलेर चुनाव लडे पनि कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुँदा माओवादी केन्द्रकी उम्मेदवार पराजित भएकी थिइन् । माओवादीले कांग्रेसले आफ्ना उम्मेदवारलाई मतदान नगरेको आरोप लगाउदै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै