• २०८१ बैशाख १७ सोमबार

युद्धविरामबारे छलफल गर्न ब्लिन्केन इजरायलमा

kharibot

तेल अभिभ । प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) सँगको युद्ध पाँचौँ महिना प्रवेश गरेको बेला युद्धविराम सम्झौताका लागि पहल गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार इजरायल आइपुगेका छन् । 

साउदी अरबा, इजिप्ट र कतारपछि मध्यपूर्वको भ्रमणका क्रममा उनले इजरायलमा नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । द्वन्द्वको सुरुमा अस्थायी युद्धविरामको मध्यस्थता गरेको कतारले हमासले युद्ध रोक्नका लागि नयाँ प्रस्तावित सम्झौताको जवाफ दिएको बताएको छ ।

कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले ब्लिन्केनसँग दोहामा भएको भेटपछि भने, “जवाफमा केही थप माग समावेश भएपनि यो सकारात्मक छ ।”

ब्लिन्केनले हमासको जवाफ इजरायलसँग ‘साझा’ भएको र बुधबार त्यहाँ छलफल गर्ने बताएका छन् । उनले अझै धेरै काम गर्न बाँकी रहेको तर सम्झौता सम्भव छ र वास्तवमै आवश्यक छ भन्ने कुरामा आफू विश्वस्त रहेको बताए । 

इजरायली गुप्तचर संस्था मोसादले पनि हमासको जवाफ प्राप्त गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले जनाएको छ ।

नेतन्याहूले मङ्गलबार भने, “हामी पूर्ण जितको बाटोमा छौं र हामी रोकिने छैनौं ।” इजिप्टसँग जोडिएको गाजाको दक्षिणी सीमामा रहेको राफा शहरतर्फ इजरायली सेनाले आक्रमण गरेपछि युद्धविरामका लागि दबाब बढेको छ ।

संयुक्त राष्ट्रसङ्घीय सहायता समन्वय कार्यालय ओसीएचएका प्रवक्ता जेन्स लार्कले भने, “स्पष्ट रूपमा भन्नुपर्दा, यस अवस्थामा राफामा हुने सम्भावित कारबाहीले ठूलो मात्रामा नागरिकको ज्यान लिन सक्छ र यसबाट बच्न हामीले आफ्नो शक्तिले भ्याएसम्म सक्दो प्रयास गर्नुपर्छ ।”

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको अभूतपूर्व आक्रमणका कारण करिब एक हजार १६० जनाको मृत्यु भएको एएफपीले इजरायली अधिकारीबाट पुष्टि गरेको तथ्याङ्कले देखाएको छ ।

लडाकूहरूले लगभग २५० बन्धकहरूलाई कब्जामा लिएकोमा गाजामा १३२ जना अझै बाँकी रहेको र कम्तीमा २७ जना मारिएको अनुमान इजरायली स्रोतले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै