• २०८१ बैशाख १६ आइतबार

पोखरामा एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप

kharibot

फाइल तस्बीर

कास्की । पोखरामा आगामी वैशाख १५ गते एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुने भएको छ । पोखरामा सन् २०११ देखि सो च्याम्पियनसिप हुँदै आएको छ । कोरोनाका कारण दुई वर्ष रोकिएको प्रतियोगिता त्यसपछि निरन्तर छ । नेपाल ट्रायथोलन सङ्घको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा प्रतियोगिता हुनेछ ।

प्रतियोगिताको मिति अन्तर्राष्ट्रिय ट्रायथोलन युनियनले आफ्नो आधिकारिक वेबसाइटमा राखिसकेको नेपाल ट्रायथोलन सङ्घका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार ट्रायथोलन च्याम्पियनसिपअन्तर्गत ट्रायथोलनको स्प्रिन्ट विधातर्फ प्रतिस्पर्धा गराइने छ । च्याम्पियनसिपमा गत वर्ष १८ देशका ५३ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

स्प्रिन्टअन्तर्गत फेवातालमा सात सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड हुनेछ । अध्यक्ष श्रेष्ठका अनुसार पौडी फेवातालमा गराइने छ । दौड गौरीघाट–सहिदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड हुँदै राष्ट्र बैंकचोक हँुदै गौरीघाटमा पुगेर समापन हुनेगरी पुरानै रुटमा यथावत हुनेछ ।

च्याम्पियनसिपका लागि पोखरामा तयारी सुरु भएको छ । सोमबार साँझ पोखरामा सङ्घका केन्द्रीय अध्यक्ष श्रेष्ठको उपस्थितिमा केन्द्र, प्रदेश तथा जिल्ला सङ्घका पदाधिकारीको बैठक बसेको थियो । बैठकमा विगतका संस्करणभन्दा यसपटक अझ भव्य बनाउने र तयारी सुरु गर्ने निर्णय गरेको छ ।

सङ्घका केन्द्रीय अध्यक्ष श्रेष्ठले यस वर्षको च्याम्पियनसिपमा विश्व ट्रायथोलन सङ्घ र एसियन ट्रायथोलन एशोसिएसनका अध्यक्षलगायत उच्चस्तरीय व्यक्तिहरूको सहभागिता हुने भएकाले भव्य हुने बताए । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पर्यटन व्यवसायी तथा यहाँका उद्योगी–व्यवसायीले अपनत्व लिनेगरी प्रतियोगिता सञ्चालन हुने बताइन्छ । 

“एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप पोखराको ब्राण्ड बनिसकेको छ । पोखराको प्रवर्द्धनका लागि च्याम्पियनसिपले ठूलो भूमिका खेलेको छ”, अध्यक्ष श्रेष्ठले भने, “पोखरामा ठूलो इभेन्ट हुने तर पोखरेलीको स्वामित्व नहुने अवस्था विगतमा थियो । तर यस वर्ष हामी त्यस्तो हुन दिँदैनौँ । विश्वका सम्पन्न देशले गर्नेभन्दा कुनै कमी च्याम्पियनसिपमा हुन दिँदैनौँ ।”

सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक कोइरालाले पोखरा ट्रायथोलन च्याम्पियनसिपका लागि विश्वकै उत्कृष्ट गन्तव्यमा पर्ने बताए । पोखरासहित समग्र देशको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि प्रतियोगिता महत्त्वपूर्ण हुने बताए । विगतमा विभिन्न कठिनाइका बाबजुद निरन्तरता दिइएको च्याम्पियनसिपमा पछिल्लो समय प्रदेश तथा जिल्ला सङ्घ बनेर अझै सहजरूपमा सम्पन्न हुने कोइरालाले बताए ।

नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका अध्यक्ष सुमन देवकोटाले च्याम्पियनसिप पोखरामा हुने सबैभन्दा बृहत् खेल इभेन्ट भएको बताए । च्याम्पियनसिप भव्य बनाउनका लागि विगतका कमजोरी सुधार गरिने उनले स्पष्ट पारे । “विगतका कमजोरी दोहोरिन दिँदैनौँ र यस वर्षको प्रतियागिता अझै भव्य बनाउने छौँ”, देवकोटाले भने ।
 
गण्डकीको कार्यवाहक अध्यक्षमा शिशिर

नेपाल ट्रायथोलन सङ्घ गण्डकी प्रदेशको कार्यवाहक अध्यक्षमा शिशिर सुवेदी चयन भएका छन् । सङ्घका अध्यक्ष सुमन देवकोटा गत पुसमा सम्पन्न अधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएपछि सुवेदीले गण्डकीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।

कार्यवाहक अध्यक्ष सुवेदीको संयोजकत्वमा आसन्न एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिपका लागि स्थानीय व्यवस्थापन समिति गठन गरिएको छ । कार्यवाहक अध्यक्ष सुवेदीले पोखरेलीको अपनत्व हुनेगरी च्याम्पियनसिपको तयारीका काम सुरु भएको जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै