• २०८१ बैशाख १६ आइतबार

आधुनिकीकरण हुन नसक्दा आरन व्यवसाय सङ्कटमा

kharibot

अत्तरिया (कैलाली) । आधुनिकीकरण हुन नसक्दा यहाँका आरन व्यवसाय सङ्कटमा पर्न थालेका छन् । परम्परागत सीपमा आधारित आरन व्यवसाय समयअनुसार परिवर्तन, आधुनिकीकरण र पुस्तान्तरण नहुँदा सङ्कटमा पर्न थालेको आरन व्यवसायीहरू बताउँछन् ।

कैलालीको गोदावरी नगरपालिका–८, स्याउले बजारका खड्ग तिरुवाले आरनमा काम गर्ने औजार आधुनिक किसिमका नभएकाले समस्या हुन थालेको बताए । “बजारमा आधुनिक औजारबाट बनेका सामान सस्तोमा पाउन थाले । हामीले आरनमा बनाएका सामानमा मेहनत बढी लाग्ने र महँगो पनि पर्ने भएकाले बिक्री गर्न पनि समस्या भएको छ”, उनले भने, “कोइला किन्नुपर्छ । नयाँ सामान बनाउनका लागि दुईजना आरनमा चाहिन्छ । घनले फलाम पिटेर सामान बनाउनुपर्छ ।” 

एउटा हँसियालाई रु पाँच सयदेखि पन्ध्र सयसम्ममा बिक्री गर्ने गरेको तिरुवाको भनाइ थियो ।“म हँसिया, कुटो, कोदालो, बञ्चरो, ताउलगायत कृषि र घरायसी प्रयोजनका सबै सामान बनाउँछु । पाँच जनाको परिवार यसैबाट पालेको छु ।” उनले भने, “आरनकै सीप सिकेकाले अन्य काम गर्न पनि मन लाग्दैन । तर यसमा मेहनत धेरै छ । आम्दानी कम छ । त्यसैले त अहिले यो व्यवसाय धेरैले छोडिसके । नयाँ पुस्ताले त झन यो काम सिक्न नै मन पराउँदैनन् ।”

सरकारले आधुनिक किसिमका विद्युतीय औजारको व्यवस्था गरिदिए हामीलाई पनि काम गर्न सजिलो हुन्थ्यो । आरनको काम गर्ने पनि बढ्थे होला । समयानुकूल आरन व्यवसाय परिवर्तन हुन नसक्दा लोप हुने अवस्थामा पुगेको सोही ठाउँका ५० वर्षीय शेरबहादुर तिरुवाले बताउनुभयो । उनले भने, “कोइला पाइँदैन । वनबाट दाउरा काटेर ल्याउन नमिल्दा गोल किन्नुपर्छ । औजार पनि आधुनिक किसिमका भएनन् । पुराना औजारबाट बनाइएका सामान महँगा हुनाका साथै ग्राहकले किन्न पनि मन पराउँदैनन् ।”

“आधुनिक जमानामा हामीले काम गर्ने औजार पुरानै भए । औजार आधुनिक किसिमका भएको भए सामान बनाउन सजिलो हुन्थ्यो । नयाँ पुस्ताले पनि काम गर्थे होला । “कृषि कार्यमा चाहिने सबै सामान बनाउँछु”, शेरबहादुरले भने, “कमाइ त हुन्छ । सम्पूर्ण घरखर्च यसै आरनको कमाइबाटै चलाएको छु । यसैबाट दस जनाको परिवार पालेको छु । दैनिक एक हजारसम्म कमाइ गर्छु ।”

समयअनुसार परिवर्तन हुन नसक्दा परम्परागत सीपमा आधारित आरन व्यवसाय लोप हुने अवस्थामा पुगेको गोदावरी नगरपालिका–८ का वडाध्यक्ष गोविन्द चौधरीले बताए । उनले भने, “परम्परागत सीपमा आधारित यस्ता व्यवसाय हामीले संरक्षण गर्न आवश्यक छ । यसले रोजगारी पनि सिर्जना गर्ने भएकाले आरन व्यवसायलाई आधुनिकीकरण गर्न सकेसम्म पहल गर्छु ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय