• २०८१ बैशाख १५ शनिबार

दोलखाको सहकारीबाट ३२ लाख चोरी

kharibot

दोलखा। दोलखाका सहकारीमा लापरबाही बढ्दा नागरिकले बचत गरेको रकम जोखिममा परेको छ  ।

केही दिनअघि  दोलखाको मेलुुङ गाउँपालिका–१ पवटीमा एक सहकारी चोरी भएको भन्दै स्थानीय बासिन्दाले स्थानीय प्रशासनसमक्ष उजुरी गरेका छन् । 

चोरी भएको भनिएको हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट रु ३२ लाख ८७ हजार दुई सय ७६ हराएको सहकारी सञ्चालकले प्रहरीलाई जानकारी गराएका छन् ।

प्रहरीले सोही सहकारीको बचत सहायक पदमा कार्यरत अहेन्द्र भुजेललाई र घरबेटीलाई पक्राउ गरी सोधपुछपछि छाडेको छ । 

दोलखाकै मेलुङ गाउँपालिका–६ मा रहेको ‘गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेड’मा पनि व्यवस्थापकले रु एक करोड ५३ लाख हिनामिना गरेको भन्दै बचतकर्ता आक्रोशित छन् । 

उक्त सहकारीले त्यसको छानबिन गरिरहेको बताएको छ । हाल गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडमा रकम हिनामिना गर्ने व्यवस्थापक भूप चापागाईंलाई सञ्चालक समितिले निलम्बन गरी छानबिन गरिरहेको बताएको छ ।

सहकारीका अध्यक्ष श्रीराज पोखरेलले उनले हिनामिना गरेको रकम असुलउपरका लागि प्रक्रिया प्रारम्भ गरिएको बताए ।

दोलखाकै कालिञ्चोक गाउँपालिका–६ मा रहेको जनचाहना बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पनि  रकम हिनामिना भएको बताउँदै स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर गरेपछि आयोगले पालिकालाई छानबिन गर्न पत्र लेखेको छ ।

स्थानीय बचतकर्ताका अनुसार त्यहाँ पनि रु २० लाखभन्दा बढी रकम सञ्चालकले हिनामिना गरेको आरोप छ । 

सहकारीमा भएको चोरी र रकम हिनामिनाबारे जिल्ला प्रहरी कार्यालयले सूक्ष्म ढङ्गले अध्ययन थालेको दोलखाका प्रहरी प्रमुख दीपक खड्काले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै