• २०८१ बैशाख १५ शनिबार

एआईबाट दिवंगत गायकको आवाजमा गीत बनाएपछि रहमान विवादमा

kharibot

काठमाडौँ । ओस्कार अवार्ड विजेता संगीतकार एआर रहमानले हालै आफ्नो एउटा गीतमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेको विषय विवादमा परेको छ ।

यस गीतको शीर्षक ‘थिमिरी येहुदा’ हो, जुन रजनीकान्तको फिल्म ‘लाल सलाम’ मा प्रयोग गरिएको छ । गीतमा रहमानले दक्षिणका दुई दिवंगत गायक शाहुल हमीद र बम्बा बक्याको स्वर प्रयोग गरेका छन् ।

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसको चर्चा सुरु भएको छ । केही मानिसहरू यसलाई उन्नत प्रविधिको फाइदाको रूपमा हेरेका छन् भने कहिले यसलाई अनैतिक भनेर टिप्पणी गरेका छन् । यस गीत बारे विवाद बढेपछि रहमानले सामाजिक सञ्जालमा स्पष्टीकरण दिएका छन् ।

रहमानले आर्टिफिसियल इन्टेलिजेन्स मार्फत दुवै दिग्गज गायकको आवाज प्रयोग गर्नुअघि उनीहरुको परिवारका सदस्यहरुबाट अनुमति लिएको बताए ।

रहमानले भनेका छन्, ‘हामीले दुवै दिवंगत गायकका परिवारबाट उनीहरुको आवाजको एल्गोरिदम प्रयोग गर्न अनुमति लिएका छौं । साथै त्यसका लागि शुल्क समेत तिरेका छौं । यदि हामीले प्रविधिको सही प्रयोग गर्यौं भने यो कुनै खतरा वा अवरोध होइन'

गायक बम्बा बक्यले रहमानसँग धेरै गीतमा काम गरेका थिए । उनको २०२२ मा हृदयघातका कारण मृत्यु भएको थियो । शाहुल हमिदको सन् १९९७ मा चेन्नई नजिकै कार दुर्घटनामा मृत्यु भएको थियो ।

रजनीकान्त फिल्म ‘लाल सलाम’ मा विस्तारित क्यामियोमा देखिनेछन् । यसलाई रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तले निर्देशन गरेकी हुन् । यस स्पोर्ट्स एक्सन ड्रामा फिल्ममा विष्णु विशाल र विक्रान्त मुख्य भूमिकामा देखिनेछन् । यसअघि यो फिल्म २०२४ को पोङ्गलमा रिलिज हुने तय भएको थियो तर अब फेब्रुअरी ९ मा रिलिज हुने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै