• २०८१ बैशाख १७ सोमबार

चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान व्यवस्थापनको काम सुरु

kharibot

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान व्यवस्थापनको काम सुरु गरिएको छ ।

निकुञ्जभित्रका वन्यजन्तुलाई आहाराका लागि यो समयमा घाँसेमैदान व्यवस्थापनको काम गर्ने गरिन्छ । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले विनियोजन गरेको बजेट र तराई भू–परिधि कार्यक्रम (ताल)को बजेटबाट घाँसेमैदान र पानीका तलाउको व्यवस्थापनको काम भइरहेको छ ।

निकुञ्जले तीन सय ७० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन गर्न रु ४० लाख ७० हजारमा बोलपत्र आह्वान गरी काम सुरु गराएको छ । 

तिवारीका अनुसार लामिताल, सुखिभार र भिम्ले क्षेत्र तथा आसपासमा घाँसेमैदानको व्यवस्थापन गरिँदै छ ।

तालको सहयोगमा भिम्ले क्षेत्रमा रु सात लाखको लागतमा घाँसेमैदानको काम गरिएको छ । पदमपुर क्षेत्रमा तालकै सहयोगमा घाँसेमैदान व्यवस्थापनका लागि रु ४० लाखको ठेक्का लगाइएको उनले जानकारी दिए ।

तिवारीका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि तीन सय हेक्टर जमिनमा घाँसेमैदान व्यवस्थापनको काम गरिरहेको छ ।थप एक सय हेक्टरमा घाँसेमैदान व्यवस्थापनको काम गर्ने जनाइएको छ ।

विगतका वर्षहरुमा घाँसेमैदान व्यवस्थापनमा धेरै लगानी गरिने भएको भए पनि पछिल्ला वर्षहरुमा बजेट निकै कम विनियोजन गर्ने गरिएको छ । 

घाँसेमैदान व्यवस्थापन गर्दा ठूला ढड्डीहरु फाँडेर नयाँ घाँसलाई मुना पलाउन सहज बनाइन्छ । अधिकांश ठाउँमा ट्र्याक्टरको प्रयोग गरिन्छ भने ट्र्याक्टर नजाने ठाउँमा मानिसले मात्रै काम गर्ने गरिन्छ ।

निकुञ्जभित्र १० हजार हेक्टर हाराहारी घाँसेमैदान छ । त्यसमध्ये हरेक वर्ष एक हजार हेक्टर क्षेत्रफल हाराहारी घाँसेमैदान व्यवस्थापन हुँदै आएको छ ।

तिवारीका अनुसार एक वर्षमा रु चार करोडसम्म घाँसेमैदान निर्माण र व्यवस्थापनमा खर्च गर्ने गरिएको थियो । पछिल्ला वर्षहरुमा क्रमशः बजेट कम हुँदै आएर निकै न्यून मात्र छुट्याउन थालिएको छ । 

यसबाट प्रत्यक्ष रुपमा गैँडा लगायतका विचरण गर्ने वन्यजन्तु र बाघका आहारा प्रजाति प्रभावित भएका छन् ।

निकुञ्जको बजेटबाट रु छ लाखको लागतमा ध्रुव क्षेत्रमा दुई तलाउ निर्माण गरिएको छ । यसैगरी लामितालमा रु पाँच लाख खर्च गरेर तालको मर्मतसम्भार गरिएको छ ।

तालको सहयोगमा पानी पोखरीको सरसफाइ र व्यवस्थापनका लागि रु २५ लाखको ठेक्का लगाइएको छ । तालकै सहयोगमा पदमपोखरी क्षेत्रमा पोखरी व्यवस्थापनका लागि रु २० लाखको काम सुरु गरिएको छ ।

निकुञ्जमा गरिएको पछिल्लो गणनाअनुसार वयस्क पाटेबाघ एक सय २८ रहेका छन् । दुर्लभ एकसिङ्गे गैँडाको सङ्ख्या छ सय ९४ रहेको थियो । सन् २०२१ मा गैँडा गणना गरिएको थियो भने सन् २०२२ मा बाघ गणना गरिएको थियो । गैँडा र बाघका लागि यो निकुञ्ज प्रख्यात छ ।
 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै