• २०८१ बैशाख २३ आइतबार

विवादमा रोहित शर्मा

kharibot

काठमाडौँ । भारतीय कप्तान रोहित शर्मा अफगानिस्तानविरुद्धको तेस्रो टी-२० खेलपछि विवादमा परेका छन् ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा बुधबाररति सम्पन्न तेस्रो टी–२० खेलमा भारतले अफगानिस्तानलाई डबल सुपर ओभरमा पराजित गरेको थियो । रोमाञ्चक खेलमा दुवै टोलीले २०–२० ओभर ब्याटिङ गरेर २१२–२१२ रन बनाए । नतिजाका लागि सुपर ओभर खेलाइएकोमा पहिलो सुपर ओभर पनि १६-१६ रनले बराबरी भयो । र खेलको निर्णय दोस्रो सुपर ओभरबाट भयो । दोस्रो सुपर ओभरमा भारतले ११ रन बनाएको भने अफगानिस्तानले केवल ३ रन मात्र बनाएर दुवै विकेट गुमायो र खेल भारतले जित्यो ।

यो खेलपछि भारतीय कप्तान रोहित विवादमा परेका छन् । आइसीसीको अन्तर्राष्ट्रिय टी- २० खेलमा पहिलो पटक डबल सुपर भएको हो ।  पहिलो सुपर ओभरमा आफुलाई रिटायर्ड आउट गरेका रोहितले दोस्रो सुपर ओभरमा समेत ब्याटिंग गरेपछि यो विषय विवादित बनेको हो ।

पहिलो सुपर ओभरमा भारतबाट रोहित शर्मा र यशस्वी जैसवालले ब्याटिङ गरे । पहिलो ५ बलमा १५ रन बनाएपछि भारतलाई एक बलमा २ रन आवश्यक थियो । यहाँ नन स्ट्राइकर एन्डमा उपस्थित रोहित दौडेर प्याभिलियन फर्किए र उनको स्थानमा रिंकु सिंह क्रिजमा आए । अन्तिम बल यशस्वीले एक रन मात्र लिन सके र खेल फेरी बराबरी भयो ।

त्यसपछि नतिजाको लागि दोस्रो पटक सुपर ओभर गरिएको थियो । यस पटक भारत पहिले ब्याटिङमा आएको थियो र रोहित र रिंकु टिमबाट ब्याटिङमा आए  । नियम अनुसार एक सुपर ओभरमा आउट हुने ब्याट्सम्यानले दोस्रो सुपर ओभरमा ब्याटिङ गर्न पाउँदैन । ब्याट्सम्यान रिटायर आउट भए पनि ब्याटिङका लागि विपक्षी टोलीका कप्तानबाट अनुमति लिनुपर्ने नियम छ  । तर रोहितले अफगानिस्तानका कप्तान इब्राहिम जाद्रानको अनुमति बिना ब्याटिङ गरे ।

अफगानिस्तानका प्रशिक्षक जोनाथन ट्रोटले खेलपछि आफुहरुलाई नियमको बारेमा थाहा नभएको र रोहितको ब्याटिङबारे कसैले जानकारी नदिएको बताएका छन् ।

उनले दोस्रो सुपर ओभरमा अजमातुल्लाह ओमरजाईले बलिङ गरोस् भन्ने चाहेको तर नियमका कारण उनले लगातार दुई सुपर ओभर बलिङ गर्न नपाउने भनेपछि फरीद अहमदलाई बलिङ गराएको उनले बताए ।

के छ नियम ?

आइसीसीको नियम २५.४.२ अनुसार ब्याट्सम्यान बिरामी, चोट वा अन्य स्वास्थ्य समस्याका कारण खेल छोडेमा त्यसलाई रिटायर्ड हर्ट मानिनेछन् र उनी ठिक भएमा इनिङ्समा फेरी ब्याटिङ गर्न सक्नेछन् । यदि ब्याट्सम्यान फेरि ब्याटिङमा फर्कन सकेनन् भने उनलाई 'रिटायर्ड नटआउट' मानिनेछ । नियम २५.४.३ अनुसार यदि कुनै ब्याट्सम्यान 'नियम नम्बर २५.४.२ बाहेक अन्य कारणले प्याभिलियन फर्किएमा उसलाई 'रिटायर्ड आउट' मानिनेछ । यसको मतलब ब्याट्सम्यानले फेरि इनिङ्समा ब्याटिङ गर्न सक्ने छैन । तर, विपक्षी टोलीका कप्तानले अनुमति दिए भने रिटायर्ड खेलाडी अवश्य ब्याटिङमा आउन सक्ने छ ।

जबकी सुपर ओभरको नियमले एक सुपर ओभरमा आउट हुने ब्याट्सम्यानले दोस्रो सुपर ओभरमा ब्याटिङ गर्न नपाउने स्पष्ट भनेको छ । रोहित पहिलो सुपर ओभरमा रिटायर्ड आउट भएकाले नियम अनुसार दोस्रो सुपर ओभरमा ब्याटिङ गर्ने अधिकार थिएन । यसका बाबजुद पनि उनले ब्याटिङमा आए ।

रोहितले अफगानिस्तानका कप्तान इब्राहिम जाद्रानबाट अनुमति पाए मात्र ब्याटिङमा आउन सक्ने अवस्था थियो । तर खेलपछि टोलीका प्रशिक्षक जोनाथन ट्रोटले आफूलाई यो नियमबारे कुनै जानकारी नभएको /नदिइएको बताए ।

त्यस्तै बलरले सुपर ओभरमा दुई पटक बल गर्न सक्दैन । यदि दुई सुपर ओभर छन् भने, कुनै पनि बलरले लगातार दोस्रो ओभर बल गर्न सक्दैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै